नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डका ट्रेडमार्क (व्यापारिक चिन्ह) नक्कल गरिएको भन्दै बहुराष्ट्रिय कम्पनीहरूले उजुरी दिएपछि उद्योग विभागले सम्बन्धित स्वदेशी कम्पनीहरूलाई कडा चेतावनीसहित स्पष्टीकरण माग गरेको छ।
विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै उजुरी परेका ११ मध्ये १० नेपाली उद्योग तथा कम्पनीलाई ७ दिनभित्र प्रमाणसहित लिखित जवाफ पेश गर्न अन्तिम अल्टिमेटम दिएको हो।
यसअघि पनि म्याद सूचना पठाइए पनि कुनै प्रतिक्रिया नआएपछि विभागले सार्वजनिक रूपमा सूचना निकाल्नुपरेको जनाएको छ र तोकिएको अवधिभित्र उपस्थित नभए कानुनअनुसार एकतर्फी कारबाही अघि बढाइने चेतावनी दिएको छ। विभागका अनुसार सबै उजुरीहरू ‘ट्रेडमार्क दाबी विरोध’ सम्बन्धी हुन्, जसमा विदेशी कम्पनीहरूले आफ्ना स्थापित ब्रान्डसँग मिल्दोजुल्दो नाम वा चिन्ह प्रयोग गरिएको दाबी गरेका छन्।
सबैभन्दा बढी उजुरी अमेरिकी पेय पदार्थ कम्पनी द कोकाकोला कम्पनीले दिएको छ, जसले ‘पलपल कोला’, ‘कुल कोला’ र ‘सुपर फ्यान्टास्टिक’ नाम प्रयोगविरुद्ध तीन छुट्टाछुट्टै उजुरी दर्ता गरेको छ।
त्यस्तै जुम कम्युनिकेसन्सले ‘कविश जुम कस्मेटिक्स’, ह्युगो बोसले ‘बास’, टर्नर इन्टरटेनमेन्टले ‘किङकर्न लोटरी’ र ‘जेरिज कोन’, इनर्जी ब्रान्ड्स इन्कले ‘एएनबीएस गुड ड्रिङ्क्स’ र ‘डीजी स्मार्ट एच२ओ’, काठमाडौं लिमिटेडले ‘द ओन काठमाडौं’ तथा ट्रेक बाइसाइकल कर्पोरेसनले ‘टर्बो ट्रेक’ ब्रान्डविरुद्ध उजुरी दिएका छन्।
उद्योग विभागले ‘संक्षिप्त कार्यविधि ऐन, २०२८’ बमोजिम प्रक्रिया अघि बढाएको जनाउँदै तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआए सम्बन्धित कम्पनीहरूको दाबी स्वतः खारेज भई कानुनी कारबाही अघि बढ्ने स्पष्ट पारेको छ।














प्रतिकृया