उपनिर्वाचन परिणाम: कांग्रेस १६ वडासहित पहिलो स्थानमा, माओवादी दोस्रो र एमाले तेस्रो स्थानमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १७ गते
उपनिर्वाचन परिणाम: कांग्रेस १६ वडासहित पहिलो स्थानमा, माओवादी दोस्रो र एमाले तेस्रो स्थानमा

आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना अहिले भइरहेको छ, र निर्वाचन आयोगले हालसम्म ३७ स्थानको परिणाम सार्वजनिक गरेको छ। यस परिणामअनुसार, नेपाली कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा रहेको छ, र कीर्तिपुर नगरपालिकामा पनि अग्रता हासिल गरेको छ। नेकपा (माओवादी केन्द्र) दोस्रो स्थानमा छ, जसले एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्ष र ६ वटा वडा जितेको छ। नेकपा (एमाले) ले एउटा अध्यक्ष, एक उपाध्यक्ष र पाँच वडा जितेको छ।

जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई स्थानमा वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र उम्मेदवारहरूले एक-एक स्थानमा जित निकालेका छन्।

कांग्रेसले जितेका स्थानहरूमा नगेन्द्र लिम्बू (लालीगुराँस नगरपालिका-८, तेह्रथुम), तेतर साहु (गढी गाउँपालिका-६, सुनसरी), शेख अब्दुल खलिक (ईशनाथ नगरपालिका-७, रौतहट), समसे आलम (राजपुर नगरपालिका-६, रौतहट), इच्छाकुमार महर्जन (कीर्तिपुर नगरपालिका-१), राजेन्द्र बानियाँ (कीर्तिपुर नगरपालिका-४), अर्जुनप्रसाद तिवारी (हेटौंडा-१२, मकवानपुर), आनन्द श्रेष्ठ (गुल्मीको मुसिकोट-१), भूपमणि पुन मगर (रुन्टीगढी गाउँपालिका-४, रोल्पा), अमिन थारु (ठाकुरबाबा नगरपालिका-४, बर्दिया), खम्बबहादुर सिंह (कुशे गाउँपालिका-७, जाजरकोट), मोतिराम खत्री (सानीभेरी गाउँपालिका-५, रुकुमपश्चिम), धिरेन्द्र पुजारा (सूर्मा गाउँपालिका-४, बझाङ), मोहन थापा (पुर्वीचौकी गाउँपालिका-६, डोटी), धनसिंह कुँवर (दुहु गाउँपालिका-५, दार्चुला), र प्रकाश चन्द (भीमदत्त नगरपालिका-६, कञ्चनपुर) छन्।

एमालेबाट निर्वाचित स्थानहरूमा कुमारी सावादेन (सिरिजंघा-३, ताप्लेजुङ), गंगाबहादुर तामाङ (मोलुङ गाउँपालिका अध्यक्ष, ओखलढुंगा), सकिबुल खाँ (रामगोपालपुर नगरपालिका-२, महोत्तरी), मोहम्द ताहिर मुसलमान (शुद्धोधन गाउँपालिका-१, कपिलवस्तु), लालबहादुर शाही (दुल्लु नगरपालिका-१३, दैलेख), जंगबहादुर शाही (महाबु गाउँपालिका अध्यक्ष, दैलेख), र सुलोचना भण्डारी (स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, बाजुरा) छन्।

माओवादी केन्द्रका विजयी उम्मेदवारहरूमा नवीनकुमार बान्तवा राई (त्रियुगा नगरपालिका-१२, उदयपुर), सुनिल कापर केवट (धनुषाधाम नगरपालिका-१, धनुषा), कृष्ण घिमिरे (ककनी गाउँपालिका-२, नुवाकोट), विष्णुबहादुर मगर (गोरखा नगरपालिका-५, गोरखा), जगत घर्ती (पुथा उत्तरगंगा-२, रोल्पा), नमोनारायण माझी (ग्रामथान गाउँपालिका अध्यक्ष, मोरङ), देवका लामिछाने (नलगाड नगरपालिका उपमेयर, जाजरकोट), र नरबहादुर झाँक्री (त्रिपुरासुन्दरी नगरपालिका-५, डोल्पा) छन्।

जनता समाजवादी पार्टी नेपालले धीरेन्द्रकुमार साह (डाक्नेश्वरी-१, सप्तरी) र देवेन्द्रप्रसाद यादव (डाक्नेश्वरी-४, सप्तरी) लाई जिताएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले रोजिना श्रेष्ठ (काठमाडौं-१६), एकीकृत समाजवादीले बजरंगीप्रसाद यादव (गढीमाई नगरपालिका-८, रौतहट), नेमकिपाले खड्गराज शाही (तिलागुफा नगरपालिका-४, कालिकोट), र स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली (कन्काई नगरपालिका-६, झापा)लाई जिताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स