नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानी उद्योगको लागत अस्वाभाविक रूपमा बढेकाले हालको मूल्यमा पानी बिक्री–वितरण गरेर उद्योग सञ्चालन निरन्तरता दिन कठिन भएको जनाएको छ।
महासंघका अनुसार देशभरका ६२० भन्दा बढी उद्योगमार्फत सञ्चालनमा रहेको यस क्षेत्रमा करिब १६ अर्बभन्दा बढी लगानी भइसकेको छ भने ३० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।
महासंघले पछिल्लो समय बोटल, क्याप, जार, प्याकिङ सामग्री लगायत कच्चा पदार्थको मूल्य करिब ४० प्रतिशतभन्दा बढीले वृद्धि भएको, साथै डिजेल तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी लागत पनि उल्लेखनीय रूपमा बढेको जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको इरान–इजरायल तनाव तथा इरान–अमेरिका सम्बन्धमा आएको द्वन्द्वका कारण आपूर्ति शृंखलामा समस्या उत्पन्न भई कच्चा पदार्थको उपलब्धता र मूल्यमा प्रत्यक्ष असर परेको महासंघको भनाइ छ।
यी सबै परिस्थितिको मूल्यांकनपछि हालको दरमा पानी बिक्री गरेर उद्योग सञ्चालन सम्भव नभएको निष्कर्षमा महासंघ पुगेको छ। त्यसैले लागत वृद्धिको अनुपातमा उत्पादित पानीको मूल्य समायोजन गर्न उद्योगहरूलाई आग्रह गरिएको छ।
महासंघले नेपाल सरकारलाई पनि उद्योग सञ्चालन सहज बनाउन, कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्न, ढुवानी लागत नियन्त्रण गर्न तथा उद्योगमैत्री नीतिगत सहजीकरण गर्न आवश्यक कदम चाल्न आग्रह गरेको छ। साथै, मूल्य समायोजनलाई उद्योग र रोजगारी संरक्षणका लागि बाध्यात्मक कदमका रूपमा बुझी सहयोग गर्न सबै सरोकारवालासँग अनुरोध गरिएको छ।


प्रतिकृया