नेपालकै पुरानो र प्रख्यात खाद्य उत्पादन कम्पनी नेबिको लिमिटेडले २० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणमा निष्काशन गर्ने भएको छ।
सेयर निष्काशन प्रक्रिया सहज बनाउन कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ। सो सम्बन्धमा बिहीबार सिद्धार्थ क्यापिटलको नक्सालस्थित कार्यालयमा दुई पक्षबीच सम्झौता भएको हो।
सम्झौतापत्रमा नेबिको लिमिटेडका तर्फबाट अध्यक्ष राज बहादुर सिंह र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन्।
सन् १९६४ मा स्थापना भएको नेबिको लिमिटेडको मुख्य कारखाना काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा छ भने हेटौंडा र भैरहवामा पनि उत्पादन एकाइहरू सञ्चालनमा छन्। कम्पनीको वार्षिक उत्पादन क्षमता १५ हजार मेट्रिक टन रहेको छ।
हाल कम्पनीले बिस्कुट, कन्फेक्शनरी, कुकिज र सिरियल्स लगायतका विभिन्न खाद्य वस्तुहरू उत्पादन र बजारमा वितरण गर्दै आएको छ।




















प्रतिकृया