ओलीलाई वर्षमानको प्रश्न, “यति, ओम्नी र गिरिबन्धु प्रकरण छानबिन गर्न संसदीय समिति गठन गर्ने आँट छ ?”
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भ्रष्टाचार, अनियमितता र राज्य दोहनका ठूला प्रकरणहरूको छानबिन गर्न संसदीय विशेष समिति गठनको आवश्यकता औंल्याएका छन्।
शनिबार काभ्रेको महाभारत गाउँपालिकामा आयोजित माओवादी केन्द्रको दोस्रो अधिवेशन उद्घाटन गर्दै पुनले भुटानी शरणार्थी प्रकरण, यति, ओम्नी, र गिरिबन्धु टी स्टेटजस्ता घटनामा संसदीय छानबिन गर्नुपर्ने प्रस्ताव अघि सारे। उनले भने, “लोकतन्त्रमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद लगायत कोही पनि प्रश्नभन्दा माथि हुन सक्दैन। प्रधानमन्त्री केपी ओलीले आफूमाथि उठेका प्रश्नहरूको छानबिनका लागि तयार हुनु आवश्यक छ।”
पुनले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको भुटानी शरणार्थी प्रकरण र यति–ओम्नी प्रकरणबारे छानबिन गर्नुपर्ने कुरा उठाए। उनले भने, “राजतन्त्रमा जस्तो लोकतन्त्रमा कोही पनि विधि र प्रश्नभन्दा माथि हुँदैन। यी प्रकरणहरूको छानबिन संसदले गर्नुपर्छ।”
पुनले प्रचण्ड सरकारले प्रहरी प्रमुखलाई सार्वजनिकरूपमा छानबिन गर्न अपिल गरेको साहसलाई उदाहरण दिँदै वर्तमान प्रधानमन्त्री ओलीमा त्यस्तो साहसको अभाव रहेको टिप्पणी गरे।