वर्षमान पुन भन्छन्, “गठबन्धनकै भरमा माओवादी टिकेको भन्ने अफवाह उपनिर्वाचनले खारेज गर्यो”

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १९ गते
वर्षमान पुन भन्छन्, “गठबन्धनकै भरमा माओवादी टिकेको भन्ने अफवाह उपनिर्वाचनले खारेज गर्यो”

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले हालै सम्पन्न उपनिर्वाचनको परिणामले माओवादीप्रतिको जनसमर्थन बढेको दाबी गरेका छन्।

रोल्पाको गंगादेव गाउँपालिकामा आयोजित पार्टी अधिवेशनलाई सम्बोधन गर्दै पुनले माओवादीलाई फरक विचार र नीतिका कारण जनताको अनुमोदन प्राप्त भएको बताए। उनले कांग्रेस र एमालेले माओवादी एक्लै चुनावमा जान नसक्ने र गठबन्धनकै भरमा टिकेको अफवाह फैलाए पनि उपनिर्वाचनले यो भ्रम चिर्न सफल भएको उल्लेख गरे।

पुनका अनुसार कांग्रेस र एमालेको जनमत घट्दो क्रममा छ, भने माओवादीको समर्थन बढिरहेको छ। उनले जितेका ११ क्षेत्रबाहेक धेरै स्थानमा माओवादी दोस्रो भएको तथ्यले यो पुष्टि गरेको तर्क गरे। साथै, पुनले कांग्रेस र एमालेको पालैपालो सत्ताको महत्वाकांक्षा उपनिर्वाचनले असफल बनाएको र अब बहुदलीय प्रतिस्पर्धामा माओवादीलाई माइनस गरेर अघि बढ्न नसकिने टिप्पणी गरे।

पुनले माओवादीको प्राथमिकता सरकारमा नभएको प्रस्ट पार्दै कांग्रेस र एमालेलाई २०८४ सम्म मिलेर सरकार चलाउन सुझाव दिए। तर भ्रष्टाचार, बिचौलिया र दलालीको प्रवृत्ति यथावत् राखिएमा जनताले सरकारलाई सडकबाट हटाउने चेतावनीसमेत दिए।

एमाले महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई ‘हरुवा’ भनेकोप्रति पुनले आपत्ति जनाउँदै प्रचण्डको निरन्तर जितको इतिहासलाई स्मरण गराए। उनले आफ्नो पार्टीले जनतासँग प्रत्यक्ष सम्पर्क राखेर आगामी निर्वाचनमा थप सशक्त रूपमा अगाडि बढ्ने स्पष्ट पारे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स