उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी अपेक्षित रुपमा बढ्न नसक्नु चिन्ताको विषय रहेको बताएका छन्।
कृषि विकास बैंक लिमिटेडको सोमबार आयोजित ५८औं वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री पौडेलले बैंकहरुमा निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ्न नसक्नु गम्भीर विषय रहेको बताए।
“पछिल्लो दिनहरूमा बैंकको बचत बढेको छ तर कर्जा अपेक्षित रुपमा बढेको छैन। यो चिन्ताको विषय हो। हामीले उत्पादन, उत्पादकत्व वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने सम्भावित क्षेत्रमा बैकको लगानी बढाउँदै जानुपर्छ”, अर्थमन्त्री पौडेलले भने।
उनले कृषि विकास बैंकलाई थप व्यावसायिक र प्रतिस्पर्धी भएर काम गर्नसमेत निर्देशन दिए। “बैंकको सञ्चालक समिति, व्यवस्थापन र कर्मचारीको सामूहिक प्रयासबाट बैंक प्रतिस्पर्धी बन्दै गएको छ। तर हामी यसैमा रमाएर बस्ने होइन। अझै राम्रो, अब्बल र प्रतिस्पर्धी बैंकका रुपमा अगाडि बढ्नुपर्छ”, अर्थमन्त्री पौडेलले भने, “व्यवस्थापन र कर्मचारीबिच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरूले अपेक्षित प्रगति गर्न नसकेको तितो अनुभव हामीसँग छ। यसकारण बैङ्कको व्यवस्थापन र कर्मचारीबीचको सम्बन्ध जीवन्त हुनुपर्छ।”
कृषि विकास बैंक जुन उद्देश्यले स्थापना भएको हो त्यो प्राप्त गर्ने कुरालाई सर्वोच्च प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।



















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया