प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले पूँजी बजारसँग सम्बन्धित नीतिगत सुधारका विषयमा राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से) र अन्य सम्बन्धित निकायसँग थप छलफल गरी कार्यान्वयन प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शाहले पूँजी बजारका सरोकारवालासँग करिब एक घण्टा लामो छलफल गरेका हुन्। छलफलमा ब्रोकर, लगानीकर्ता, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको पूँजी बजार फोरम, सेबोन, नेप्से तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी थिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लगानीकर्ता अम्बिका पौडेलले प्रधानमन्त्रीले पूँजी बजारको विकास, विस्तार र लगानीकर्ताको मनोबलसँग सम्बन्धित सबै विषय गम्भीरतापूर्वक सुनेको बताए।
उनका अनुसार बैठकमा राष्ट्र बैंकले गर्नुपर्ने नीतिगत सुधार, सेबोन र नेप्सेको भूमिकालाई प्रभावकारी बनाउने विषय, अर्थ मन्त्रालयले कर तथा कानुनी व्यवस्थामा गर्नुपर्ने संशोधनलगायतका एजेन्डामा विस्तृत छलफल भएको थियो।
“प्रधानमन्त्रीले पूँजी बजारलाई पूँजी परिचालनको प्रमुख माध्यमका रूपमा लिनुभएको छ। लगानीकर्ताको विश्वास बढाउन र बजार सुधारका लागि प्रधानमन्त्री कार्यालयबाट पनि काम भइरहेको छ। उहाँले सम्बन्धित निकायसँग थप छलफल गरेर आवश्यक सुधार अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ,” पौडेलले भने।
यस्तै, एफएनसीसीआई पूँजी बजार फोरमका प्रियराज रेग्मीले बैठकमा लगानीकर्ताका तर्फबाट बजार सुधारका लागि विभिन्न नीतिगत सुझाव पेश गरिएको बताए।
उनले इन्ट्राडे कारोबार सुरु गर्ने, गैरआवासीय नेपाली (एनआरएन) लगानीलाई सहज बनाउने, संस्थागत लगानीकर्ताको सहभागिता बढाउने, नेप्सेको पुनःसंरचना गर्ने, आईपीओ प्रणाली सुधार गर्ने तथा घाटा समायोजनपछि मात्रै पूँजीगत लाभकर लिने व्यवस्था गर्नुपर्ने माग प्रधानमन्त्रीसमक्ष राखेको बताए ।
“प्रधानमन्त्रीले हाम्रा सबै सुझाव सुन्नुभयो। राष्ट्र बैंक, सेबोन, नेप्से र सीडीएसका पदाधिकारीसँग पुनः छलफल गरेर कार्यान्वयनतर्फ अघि बढ्ने बताउनुभयो,” रेग्मीले भने।

प्रतिकृया