चैत १५ को घटनापछि राजावादी आन्दोलनमा ब्रेक लागेको विश्लेषण भईरहेको छ। राजावादी आन्दोलन हिंसात्मक बनेपछि राजा पक्षधरहरु नै रक्षात्मक बनेका छन्। सामाजिक संजालमा ‘राजा आऊ देश बचाऊ’ भन्नेहरु पनि यतिबेला मत्थर देखिएका छन्। राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जन आन्दोलन समितिका संयोजक नवराज सुवेदी घरमै नजरबन्दमा छन् भने राप्रपाका दुई नेताहरु रबिन्द्र मिश्र र धवल शमशेरलाई प्रहरीले गिरफ्तार गरेको छ। राजावादी आन्दोलनका ‘जन कमान्डर’ तोकिएका दुर्गा प्रसाईं फरार छन् भनिएको छ र उनलाई खोज्न प्रहरी परिचालन गरिएको बताईएको छ।
आफ्ना दुई नेताहरु पक्राउ परेपछि १६ गते शनिबार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बैठकले पनि शुक्रबारको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग राख्यो। पक्राउ परेका आफ्ना दुई नेताहरु रबिन्द्र मिश्र र धवल शमशेरलाई २४ घण्टाभित्र रिहा गर्न पनि राप्रपाले माग गरेको छ। राप्रपाले यसअघि नै चैत २६ गते काठमाण्डौमा जनप्रदर्शन गर्ने र २०८२ वैशाख ७ बाट निरन्तर राजधानी केन्द्रित प्रदर्शन गर्ने निर्णय गरिसकेको छ।
१५ गतेको प्रदर्शन हिंसात्मक भएपछि पछिल्लो समयमा राजसंस्थाको पक्षमा बनिरहेको माहोल बिग्रिएको छ। जन कमान्डर तोकिएका दुर्गा प्रसाईंले तिव्र गतिमा गाडी हुईक्याउदै प्रहरीको घेरा तोड्नु र निषेधित क्षेत्रतर्फ बढ्न प्रदर्शनकारीहरुलाई आह्वान गर्नु, प्रदर्शनका क्रममा व्यक्तिगत सम्पत्तिमा क्षति पुर्याउनु, आगजनी हुनु, भाटभटेनि लुटिनु, पत्रकार जलाईनु जस्ता घटनाले राजावादीहरुको शाख गिरेको छ। प्रभाव स्वरुप आगामी दिनमा हुने राजावादी प्रदर्शनहरुमा जन सहभागीतामा उल्लेख्य कमी आउने देखिन्छ।
सेयर बजारमा कस्तो असर पर्ला ?
आन्दोलन चर्किने, भारतकै चाहनामा पूर्वराजाले सक्रियता देखाएको हुँदा वर्तमान कांग्रेस एमाले सत्ता समीकरण भत्किने, मुलुकको राजनीति निकै जटिलता तर्फ जानसक्ने र यी सबै कुराहरुले देशको आर्थिक अवस्था झन् जर्जर भई सेयर बजारमा भारी गिरावट आउने विश्लेषण सहित ठूलो सेलिङ्ग प्रेसर आउँदा छोटो समयमै नेप्से सूचकमा ठूलो गिरावट देखियो। तिन हप्ताको अवधिमा बजारमा ३५० अंकको गिरावट आएको थियो। विशेषगरी राजवादी आन्दोलनको ‘फेस’ को रुपमा दुर्गा प्रसाईं देखिँदै गर्दा मारवाडी समुदाय आतंकित देखिन्थ्यो।
राजावादी आन्दोलनमा ब्रेक लागेको स्थिति र अब हुने प्रदर्शनहरु ‘केवल औपचारिकताका लागि मात्रै हुने; खासै दम नहुने’ विश्लेषण अधिकांश सेयर लगानीकर्ताहरुले गरेका छन्। आन्दोलन निक्कै चर्किने र लामो समय चल्ने आँकलन गर्दै सेयर बेचेर बसेका लगानीकर्ताहरु पनि आन्दोलन तुहियो अब सेयर किन्नुपर्छ भन्ने मानसिकतामा पुगेका देखिन्छन। बजारको चिरफारसंगको कुराकानीको क्रममा बुधबार र बिहिबारको बजारले बढ्ने संकेत गरिसकेको र बेचेर बसेका लगानीकर्ताहरु बजार प्रवेश गर्दा आक्रामक रुपमा बजार बढ्नसक्ने विश्लेषण अधिकांश ठूला र प्रभावशाली व्यक्तिगत/संस्थागत लगानीकर्ता तथा ब्रोकर संचालकहरुले सुनाए।
















प्रतिकृया