प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच सोमबार बालुवाटारमा करिब एक घण्टा लामो भेटवार्ता भएको छ। भेटमा मुलुकको समग्र आर्थिक अवस्था, सुधारका प्राथमिकता, वित्तीय अपराध नियन्त्रण र आगामी रणनीतिबारे विस्तृत छलफल भएको स्रोतले जनाएको छ। प्रधानमन्त्री शाहले गभर्नर पौडेललाई कुनै पनि बाह्य दबाब वा प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न स्पष्ट निर्देशन दिएका छन्। उनले ऋण दुरुपयोग तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी गलत अभ्यासविरुद्ध कडा कारबाही गर्न नडराउन पनि आग्रह गरेका छन्।
प्रधानमन्त्रीले छोटो समयमा परिणाममुखी काम गर्न समस्या र समाधानबारे स्पष्ट बुझाइ बनाउनुपर्नेमा जोड दिएर आर्थिक विकासलाई गति दिन गभर्नरबाट ठोस सुझाव अपेक्षा गरेका छन्। साथै, अमेरिका–इजरायल–इरानबीचको द्वन्द्वले नेपाली अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे अध्ययन गर्न पनि निर्देशन दिएका छन्।
जवाफमा गभर्नर पौडेलले ठूला पूर्वाधार आयोजना मार्फत आर्थिक गतिविधि चलायमान बनाउन सकिने बताए। उनले काठमाडौं–वीरगञ्ज रेलमार्ग निर्माण गरी भारतसँग जोड्ने तथा काठमाडौं–पोखरा फास्ट ट्रयाक अघि बढाउने सम्भावना रहेको उल्लेख गर्दै पहिलो वर्षमा २०–३० अर्ब रुपैयाँसम्म खर्च गर्न सकिने बताए। त्यस्तै, रेमिटेन्स र वित्तीय सूचकांकको आधारमा सार्वजनिक वित्त सुधार गर्न नेपाल राष्ट्र बैंकले सहयोग गर्न सक्ने उनले बताएका छन्। २–३ वर्षभित्र ठूला परियोजना सम्पन्न गर्न सकिएमा अर्थतन्त्रमा सकारात्मक नतिजा आउन सक्ने विश्वास पनि उनले व्यक्त गरे।
यसअघि गभर्नर पौडेलले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि विस्तृत छलफल गरी बजेट निर्माण र मौद्रिक नीतिबीच समन्वयका विषयमा आपसी समझदारी कायम गरेका थिए। गभर्नरले केही दिनअघि प्रधानमन्त्रीका सल्लाहकारसँग पनि आर्थिक सुधारका विविध आयाम र भविष्य कार्यदिशाबारे छलफल गरिसकेका थिए।
केही समययता नयाँ सरकार बनेपछि गभर्नर पौडेललाई हटाउने चर्चा चल्दै आएको थियो।




















प्रतिकृया