नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवर्धनका लागि पूर्वाधार विकास र अन्तरदेशीय कनेक्टिभिटी विस्तारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
नेपाल पर्यटन बोर्ड र नाट्टा (नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स) को संयुक्त आयोजनामा काठमाडौंमा सुरु भएको तेस्रो बौद्ध अन्तर्राष्ट्रिय यात्रा मार्ट (Buddhist International Travel Mart) को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए।
उनले उक्त मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। “मार्टलाई अझ परिष्कृत गर्दै नेपालको पर्यटन ब्रान्डको रूपमा विकास गर्न आवश्यक छ,” उनले भने।
बौद्ध पर्यटन प्रवर्धनका सन्दर्भमा अध्यक्ष ढकालले लुम्बिनीसहित अन्य बौद्ध तीर्थस्थललाई समेट्नेगरी क्षेत्रीय ‘बौद्ध सर्किट’ विकास गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भारतमा रहेका महत्वपूर्ण बौद्ध स्थलहरूसँग पनि नेपाललाई सशक्त रूपमा जोड्नुपर्ने बताए।
“विश्वभर रहेका बौद्ध धर्मावलम्बीलाई जीवनमा एकपटक बुद्धको जन्मस्थल लुम्बिनी आउन प्रेरित गर्न सक्नुपर्छ,” अध्यक्ष ढकालले भने, “यसले पर्यटक आगमन बढाउनुका साथै नेपालको सम्पूर्ण पर्यटन क्षेत्रको रूपान्तरण सम्भव छ।”
ढकालले नेपालमा हवाई भाडा महँगो भएकोतर्फ पनि संकेत गरे। उनले सरकारले टिकटमा भ्याट लगाउँदा यात्रुमा थप आर्थिक भार परेको बताए र यसबारे पुनर्विचार गर्नुपर्ने धारणा राखे।
















प्रतिकृया