नेपाल र बंगलादेशबीच थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । हाल नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको अवस्थामा ढाकामा बिहीबार बसेको सातौँ ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले अतिरिक्त २० मेगावाट थपेर निर्यात बढाउने सहमति गरेको हो ।
बैठकमा नेपालका ऊर्जा सचिव चीरञ्जीवी चटौत र बंगलादेशका ऊर्जा सचिव फर्जना ममताजले नेतृत्व गरेका थिए । सो बैठकले सुनकोशी–३ जलविद्युत् आयोजना मूल्यांकनका लागि बंगलादेशले विशेषज्ञ समिति गठन गरी लगानी प्रक्रियामा अघि बढ्ने र जेभीए छिटो टुंग्याउने सहमति गरेको छ । साथै भारतीय ग्रिडमार्फत नेपालबाट बंगलादेशका बरापुकारण, पञ्चगढ/ठाकुरगाउँ, भेरामारा र कोमिल्लासम्म विद्युत् निर्यात सम्भाव्यता अध्ययन गर्ने निर्णय गरिएको छ ।
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवर्द्धनसम्बन्धी समझदारीपत्रमा दुवै देशले आन्तरिक प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने र सोअन्तर्गत बंगलादेशले ऊर्जा परीक्षण, ईभी चार्जिङ, रुफटप सोलारजस्ता क्षेत्रमा नेपाललाई प्राविधिक सहयोग प्रदान गर्ने सहमति भएको छ । क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत पहिलो चरण बंगलादेशी पक्षका लागि काठमाडौंमा र दोस्रो चरण नेपाली पक्षका लागि बंगलादेशमा सञ्चालन गर्ने निर्णय गरिएको छ ।




















प्रतिकृया