समयसीमाभित्र तार व्यवस्थापन गर्न नसकेपछि इन्टरनेट सेवा प्रदायक सङ्घले थप १५ दिन माग्यो, सञ्चार मन्त्रालयले भन्यो– ‘यो अन्तिम पटक हो’

समयसीमाभित्र तार व्यवस्थापन गर्न नसकेपछि इन्टरनेट सेवा प्रदायक सङ्घले थप १५ दिन माग्यो, सञ्चार मन्त्रालयले भन्यो– ‘यो अन्तिम पटक हो’
Advertisement Ads

काठमाडौं उपत्यकामा पोलमा वर्षौंदेखि गुजुल्टिएर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केवलका तार व्यवस्थापनका लागि तोकिएको समयसीमा पूरा हुन नसकेपछि इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले थप १५ दिनको समय मागेको छ। सूचना तथा सञ्चार मन्त्रालयले भने यो अन्तिम पटकको समय हुने स्पष्ट गरेको छ।

शुक्रबार मन्त्रालयमा बसेको सरोकारवाला निकायहरूको बैठकमा आइस्पानले निर्धारित अवधिभित्र काम सम्पन्न गर्न नसकिएको भन्दै थप समय आवश्यक रहेको जनाएको हो। बैठकमा सूचना तथा सञ्चार मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, आइस्पान तथा अन्य सम्बन्धित निकायका प्रतिनिधि सहभागी थिए।

बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अव्यवस्थित तार व्यवस्थापनको प्रगति समीक्षा गर्दै तोकिएको समयसीमाभित्र काम सम्पन्न नभएकोप्रति असन्तुष्टि जनाए। उनले सरकारले समस्या समाधानमा आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गर्दै अब परिणाममुखी रूपमा काम गर्न निर्देशन दिए।

“तार व्यवस्थापन गर्ने कामलाई सरकारले निष्कर्षमा पु¥याएरै छाड्छ । यसमा तपाईहरु स्पष्ट हुनुहोस्,” मन्त्री तिमिल्सिनाले भने, “काम गर्दै जाँदा केही दिन ढिला हुन सक्छ, तर अब अनिश्चित रूपमा समय लम्ब्याउन सकिँदैन ।”

उनले अव्यवस्थित तार व्यवस्थापन सेवा प्रदायकहरूको कानुनी तथा व्यावसायिक दायित्व भएको उल्लेख गर्दै विगतमा नै यो काम भएको भए अहिलेको अवस्था सिर्जना नहुने बताए। साथै, एउटै पूर्वाधार विभिन्न सेवा प्रदायकले साझा रूपमा प्रयोग गर्न सक्ने व्यवस्थाबारे अध्ययन गर्न पनि निर्देशन दिए।

सञ्चारमन्त्रीले आइस्पान र नेपाल दूरसञ्चार प्राधिकरण दुवैको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै यसअघि साउन १५ भित्र काम सक्ने प्रतिबद्धता गरिएको स्मरण गराए। “आइस्पानले फेरि १५ दिनको समय मागेको छ । तर यसअघि तपाईँहरूले नै साउन १५ गतेभित्र काम सक्ने प्रतिबद्धता गर्नुभएको थियो । अब मागिएको समयमा पनि काम सकिन्छ भन्ने विश्वसनीय आधार चाहिन्छ,” उनले भने।

आइस्पानका प्रमुख कार्यकारी अधिकृत सुभास खड्काले काठमाडौं उपत्यकाका पहिलो चरणमा निर्धारण गरिएका ६ वटा रुटमध्ये हालसम्म करिब ५८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए। उनका अनुसार काठमाडौंसँगै देशका अन्य स्थानमा पनि तार व्यवस्थापनको काम जारी छ।

आइस्पानले नेपाल विद्युत् प्राधिकरणबाट पर्याप्त पूर्वाधार उपलब्ध नभएको, आवश्यक जनशक्ति परिचालनमा कठिनाइ, प्रहरी तथा ट्राफिक व्यवस्थापनसँग सम्बन्धित समस्या र दक्ष जनशक्तिको अभावका कारण काम प्रभावित भएको जनाएको छ। अब भने उपलब्ध जनशक्तिलाई एउटै क्षेत्रमा केन्द्रित गरेर छिटो काम सम्पन्न गर्ने रणनीति अपनाइने जानकारी पनि दिएको छ।

यसअघि असार ३१ गते बसेको उच्चस्तरीय अन्तरनिकाय बैठकमा आइस्पानले काठमाडौं उपत्यकाका पहिलो चरणका ६ वटा रुटमा साउन १५ गतेभित्र अव्यवस्थित तार व्यवस्थापन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स