स्किल सेवा र ह्वाइट रुमजस्ता व्यवसायमार्फत उद्यमशीलताको क्षेत्रमा स्थापित बन्दै गएकी युवा उद्यमी सताक्षी मिश्रले व्यवसाय सुरु गर्न चाहने युवालाई “आज सोच्यो भने भोलि नै सुरु गर्नुपर्छ” भन्ने सन्देश दिएकी छन्।
बजारको चिरफार प्रिमियम पोडकास्टमा बोल्दै २७ वर्षीया मिश्रले आफूले इन्जिनियरिङ अध्ययन पूरा गरेलगत्तै उद्यमशीलताको यात्रा सुरु गरेको बताइन्। चितवनबाट काठमाडौं आएपछि विभिन्न व्यवसायिक अवधारणामा काम गर्दा सुरुवाती चरणमा धेरै असफलता भोग्नुपरेको उनको अनुभव छ।
उनका अनुसार सुरुवातमा प्लम्बर र इलेक्ट्रिसियनलाई ग्राहकसम्म पुर्याउने सेवा सुरु गरिएको थियो। त्यसपछि निर्माण क्षेत्रमा प्रयोग हुने उपकरण भाडामा दिने प्रयास गरियो। तर दुवै व्यवसाय सफल हुन सकेनन्।
“छ महिनासम्म लगातार घाटा भयो। साथीहरू कमाउन थालिसकेका थिए, म भने घाटामै थिएँ,” उनले भनिन्।
त्यसपछि उनले भारतलगायतका देशमा निर्माण क्षेत्रमा भइरहेका नयाँ अभ्यासबारे अध्ययन गर्न थालेकी थिइन्। त्यसै क्रममा भवन निरीक्षण (इन्स्पेक्सन) सेवा सुरु गरिएको थियो। विशेष उपकरण प्रयोग गरेर घरमा कहाँबाट पानी चुहिएको छ, कहाँ संरचनात्मक समस्या छ भन्ने पहिचान गरी रिपोर्ट दिने सेवा ग्राहकले रुचाएपछि व्यवसायले गति लिएको उनले बताइन्।
सोही आधारमा स्किल सेवाले घर मर्मत, रेनोभेसन र निर्माण सेवामा विस्तार गरेको मिश्रको भनाइ छ। हाल कम्पनीले घरको डिजाइन, निर्माणदेखि चाबी हस्तान्तरणसम्मको सेवा प्रदान गरिरहेको छ।
‘ह्वाइट रुम’ आठ महिनामै चर्चामा
मिश्रले पछिल्लो समय ‘ह्वाइट रुम’ नामक व्यवसायले अपेक्षाभन्दा राम्रो प्रतिक्रिया पाएको बताइन्। यो व्यवसाय एयरबिएनबी अवधारणामा आधारित रहेको उनले जानकारी दिइन्।
उनका अनुसार परिवारसहित काठमाडौं आउने, उपचारका लागि बस्नुपर्ने वा छोटो समयका लागि आवास खोज्ने ग्राहकलाई लक्षित गरी पूर्ण सुविधासहितका अपार्टमेन्ट उपलब्ध गराइन्छ।
“स्किल सेवामा धेरै वर्ष काम गरेँ, तर अहिले धेरैले मलाई ह्वाइट रुमबाट चिन्छन्,” उनले भनिन्।
स्टार्टअपमा आउन चाहनेलाई सुझाव
उद्यमशीलताको यात्रामा सबैभन्दा ठूलो चुनौती मानसिक तयारी भएको मिश्रको भनाइ छ। स्टार्टअपमा सफल हुन लाज, संकोच र कम्फर्ट जोन छोड्नुपर्ने उनको अनुभव छ।
“स्टार्टअपमा सीईओ पनि आफैँ, कर्मचारी पनि आफैँ। चिया बनाउनेदेखि ग्राहकलाई सेवा दिने कामसम्म आफैँ गर्नुपर्छ,” उनले भनिन्।
उनले व्यवसाय सुरु गर्न ठूलो पूँजी आवश्यक नपर्ने दाबी गर्दै राम्रो आइडिया भए परिवार, साथीभाइ वा लगानीकर्ताबाट समेत सहयोग जुटाउन सकिने बताइन्।
“विदेश जान २०–३० लाख जुटाउन सक्ने परिवारले व्यवसाय सुरु गर्न ५० हजार दिन सक्दैनन् भन्ने हुँदैन। आफ्नो आइडिया राम्रोसँग प्रस्तुत गर्न सक्नुपर्छ,” उनले भनिन्।
मिश्रका अनुसार युवाले विदेशमा चलेका नयाँ व्यवसायिक अवधारणा अध्ययन गरेर नेपाली बजारअनुसार परिमार्जन गरी प्रयोग गर्न सके अवसरको कमी छैन।

प्रतिकृया