Advertisement
Ads

नेपाल फाइनान्सको ‘कायापलट’ गराउन सक्ने यो ‘केस’ सर्बोच्चमा, फैसलाको प्रतीक्षामा कम्पनी



आर्थिक वर्ष २०७९/८० मा नेपाल फाइनान्सको नाफा २ करोड १ लाख ३४ हजार ६ सय ७८ रुपैयाँ थियो। २०७८/७९ मा २ करोड ७३ लाख २५ हजार ७ सय ३२ रुपैयाँ नाफा कमाएको कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा त ५ करोड रुपैयाँ भन्दा बढी नाफा गरेको थियो। भर्खरै प्रकाशित भएको चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा पनि कम्पनीले १३ लाख १८ हजार रुपैयाँ नाफा गरेको देखिन्छ। तर कम्पनीको सोहि अवधिसम्मको वितरण योग्य आम्दानी चाहिँ २२ करोड १० लाख रुपैयाँले ऋणात्मक देखिन्छ। कम्पनी विगत ३ आर्थिक वर्षदेखि लगातार नाफामा भएता पनि सेयर धनीहरुलाई लाभांश दिन सकेको छैन किनभने कम्पनीको संचित आम्दानी ऋणात्मक छ। जबसम्म कम्पनीको रिटेण्ड अर्निंग (संचित आम्दानी) धनात्मक हुँदैन तबसम्म कम्पनीले लाभांश बाँड्न पाउँदैन। आर्थिक वर्ष २०७९/८० को वित्तिय विवरण अनुसार कम्पनीको संचित नोक्सानी २१ करोड २९ लाख रुपैयाँ भन्दा बढी छ। कम्पनीको चुक्ता पूँजी ७२ करोड ७५ लाख रुपैयाँ छ। जम्मा ७२ करोड चुक्ता पूँजी भएको कम्पनीको संचित नोक्सानी कसरी २१ करोड भन्दा बढी भयो? यसको पछाडि एउटा विशेष कारण छ।

किन नेपाल फाइनान्सको रिटेण्ड अर्निंग उच्च ऋणात्मक छ ?
आर्थिक वर्ष २०७७/७८ मा यस्तो नोक्सानी ३२ करोड ७७ लाख रुपैयाँ थियो। १ वर्षको अवधिमा कम्पनीले सो नोक्सानीलाई ३२ करोड बाट २५ करोडमा झार्यो। आर्थिक वर्ष २०७९/८० मा आईपुग्दा सो नोक्सानी अझै घट्दै २१ करोडको आसपासमा आईपुगेको देखिन्छ। यसरी कम्पनीले छोटो समयमा नोक्सानीको ठूलो हिस्सा रिकोभर गरेको देखिन्छ। कम्पनीले सो अवधिमा उठ्न नसकेका (खराब कर्जा) उठाउनमा ध्यान केन्द्रित गरेको र कर्जा रिकोभरीमा उल्लेख्य प्रगति समेत भएका कारण संचित नोक्सानी उच्च रुपमा घटाउन सकिएको सहायक प्रमूख कार्यकारी अधिकृत विष्णु प्रसाद गौतम बताउँछन्।


Advertisement

नेपाल फाइनान्सको खराब कर्जा निकै उच्च रुपमा बढ्नुका साथै अन्य समस्याहरु पनि देखिएपछि राष्ट्र बैंकले २०७१ मङ्सिर १७ गते समस्याग्रस्त वित्तिय संस्था घोषणा गरेको थियो। २०७६ मङ्सिर २० गतेको निर्णय पश्चात राष्ट्र बैंकले नेपाल फाइनान्सलाई समस्याग्रस्त संस्थाको सूचीबाट हटायो। २०७७ को पुषमा नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति (एक्वायर) गर्ने निर्णय गर्यो। माथि उल्लेखित संचित घाटामा ललितपुर फाइनान्स जोडिएको छ।

भएको के थियो ?
२०६७ सालमा साविकको ललितपुर फाइनान्सले विष्ट थरका एक व्यक्तिको नाममा १३ करोड ऋण प्रवाह गर्यो। सो कर्जाको धितो सुरक्षण स्वरुप सुवेदी थरका व्यक्तिको नाममा काठमाण्डौ जिल्ला अदालतमा दर्ता कायम रहेको जग्गा राखियो। ऋणी ‘विष्ट’ ले कर्जाको सावाँ ब्याज भुक्तानी नगरेपछि कम्पनीले धितो लिलामीको प्रकृया अघि बढायो। तर ‘दृष्टिबन्धक लिखत समेत पारित गरिदिएको नहुँदा धितोलिलामीको प्रकृया रोकीपाउँ भनी सुवेदी थरका व्यक्तिले काठमाण्डौ जिल्ला अदालतमा फिराद गरे। जिल्ला अदालत काठमाण्डौले २०७३/०२/१७ मा साविकको ललितपुर फाइनान्सकै पक्षमा फैसला गर्यो। त्यसपछि सुवेदी थरका ती व्यक्तिले उच्च अदालत पाटमा जाहेरी गरे। उच्च अदालतले भने निज सुवेदीको पक्षमा फैसला गरेपछि कम्पनीले सर्बोच्च अदालतमा ‘दोहोर्याई हेरी पाउँ’ मुद्धा हालेको देखिन्छ।

२०८० फाल्गुन २३ गते सो मुद्धाको पेशी तोकिएकोमा सो दिन हेर्न नभ्याइनेमा परेपछि सर्बोच्चबाट फैसला आउन सकेको छैन।

कम्पनीले मुद्धा जिते के हुन्छ ?
२०६७ सालमा करिब १३ करोड रुपैयाँ प्रवाह भएको कर्जाको ब्याज हिसाव गर्दा यो १३ वर्षको अवधिमा सो रकम कम्तिमा दुईगुणा हुने देखिन्छ। नेपाल फाइनान्सको पक्षमा फैसला भएको खण्डमा अहिले देखिएको संचित घाटा कभर भई कम्पनीको रिटेण्ड अर्निंग धनात्मक हुनेछ। कम्पनीको रिटेण्ड अर्निंग धनात्मक हुने वित्तिकै कम्पनीले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने बाटो खुल्नेछ। अन्य विभिन्न वित्तिय संस्थाहरु पूँजीकोषका कारण थप ऋण प्रवाह गर्न सोच्नुपर्ने अवस्थामा रहँदै गर्दा निकै सुविधाजनक पूँजीकोष अनुपात रहेको नेपाल फाइनान्सको सबैभन्दा टाउको दुखाईको विषय नै यो केस रहेको देखिन्छ। सर्बोच्चको फैसला कम्पनीको पक्षमा आएको खण्डमा वित्तिय रुपमा कम्पनीको कायापलट नै हुने देखिन्छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर