अछाममा नेकपा एमालेका एक हजार ८१ जना कार्यकर्ता डा. भीम रावलद्वारा सुरु गरिएको मातृभूमि जागरण अभियानमा सहभागी भएका छन्।
मंगलबार सामूहिक विज्ञप्ति जारी गर्दै अभियानमा खुलेका एक हजार ८६ जनामध्ये एक हजार ८१ जना एमालेका कार्यकर्ता रहेको जनाइएको छ। रावलका एक सहयोगीका अनुसार सबै एक हजार ८६ जनाले वक्तव्य जारी गर्दै अभियानमा सामेल भएको घोषणा गरेका हुन्।
रावलको अभियानमा सहभागी हुनेमध्ये एमालेको सुदूरपश्चिम प्रदेश कमिटीका सदस्यसहित विभिन्न तहका कार्यकर्ता छन्। सहभागीहरूमध्ये सुदूरपश्चिम प्रदेश विभागका सातजना, केन्द्रीय विभागका दुईजना, जिल्ला कमिटी सचिवालयका पाँचजना, प्रवास केन्द्रीय प्रतिनिधि परिषद्का एकजना, जिल्ला कमिटीका १७ जना, पूर्वजिल्ला कमिटीका तीनजना, र जिल्ला सल्लाहकारका १३ जना छन्।
त्यसैगरी, एमालेका नगर कमिटीका १२ जना पदाधिकारी तथा सचिवालय सदस्य, अनेम संघका कार्यवाहक जिल्ला अध्यक्ष, जनवर्गीय संगठनका आठजना पदाधिकारी, वडा कमिटीका २२ जना अध्यक्ष तथा पदाधिकारी, ६३७ जना संगठित सदस्य, र अन्य संगठित सदस्यसमेत गरी कुल एक हजार ८६ जना अभियानमा खुलेका छन्।
मंगलबार अछाममा आयोजित पत्रकार सम्मेलनमा एमाले जिल्ला संगठन विभाग प्रमुख प्रकाश शाहले पनि रावलको अभियानमा समर्थन जनाएका छन्। उनले एमाले नछाडेको तर अहिले मातृभूमि जागरण अभियानलाई साथ दिएको स्पष्ट पारे।
गत पुस ११ गते पार्टीबाट निष्कासित भएपछि रावल कुनै दलमा आबद्ध छैनन्। हाल उनले मातृभूमि जागरण अभियान लिएर गृहप्रदेशमा यात्रा गरिरहेका छन्। कोशी प्रदेशको भ्रमण सकेर साँफेबगर हुँदै अछाम पुगेका रावलले अभियानलाई अझै व्यापक बनाउने तयारी गरेका छन्।
रावलको अभियानले सुदूरपश्चिममा नेकपा एमालेलाई ठूलो झट्का दिने संभावना देखिएको छ। उनले एमालेलाई चुनौती दिने गरी अभियानलाई सशक्त बनाएपछि केही समयभित्र नयाँ राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन्।
तलको लिंक क्लिक गरेर हेर्नुहोस् कार्यकर्ताको नाम
















प्रतिकृया