चन्द्र ढकालको नेतृत्वमा रहेको १० अर्बको ‘नेपाल इन्भेष्टमेन्ट’ कम्पनी अघि बढ्यो, सीईओमा रत्नराज बज्राचार्य नियुक्त

चन्द्र ढकालको नेतृत्वमा रहेको १० अर्बको ‘नेपाल इन्भेष्टमेन्ट’ कम्पनी अघि बढ्यो, सीईओमा रत्नराज बज्राचार्य नियुक्त

नेपाल इन्भेष्टमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रत्नराज बज्राचार्य नियुक्त भएका छन्। ग्लोबल आईएमई बैंकका तत्कालीन सीईओ बज्राचार्यलाई  नेपाल इन्भेष्टमेन्ट कम्पनीको सञ्चालक समिति बैठकले सीईओमा नियुक्त गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट कम्पनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा १० अर्ब रुपैयाँ पुँजीका साथ स्थापना गरिएको छ। नेपालका ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले यो कम्पनी खडा गरिएको हो।  देशभरका सम्पूर्ण उद्योगी व्यवसायीले यस कम्पनीमा  लगानी गर्न पाउने व्यवस्था गरिएको छ। हालसम्म कम्पनीले १ अर्ब रुपैयाँभन्दा बढी लगानी संकलन गरिसकेको छ भने यसको मुख्य कार्यालय लैनचौरमा रहेको छ।

पर्यटन, कृषि, जलविद्युत तथा पूर्वाधार विकासमा लगानी गर्ने उद्देश्यका साथ स्थापना गरिएको कम्पनीमा निजी क्षेत्रका अगुवा संगठनबाट प्रनिधित्व हुने गरी सञ्चालक समिति चयन गरिएको छ । कम्पनीको सञ्चालकमा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागिरथ सापकोटा र नेपाल उद्योग वाणिज्य महासंघको लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेल छन् ।

कुल १० अर्ब पुँजीको लगानीमा स्थापित उक्त कम्पनीले सर्वसाधारणमा सेयरसमेत जारी गर्ने छ । सर्वसाधारणलाई पनि सेयर जारी गर्दै पुँजी जुटाउने तयारीमा रहेको यस कम्पनीले सबैको सहभागिताबाट पूर्वाधार विकासमा गति ल्याउने र लगानीकर्तालाई उच्च प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स