पाल्पा जिल्लाको रामपुर नगरपालिकाले ‘मेयर छात्रवृत्ति’ कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको छ । चार वर्षदेखि नगरमा उक्त कार्यक्रम सञ्चालन भएसँगै यसको प्रभावकारिता पनि बढ्दै गएको छ ।
नगरपालिकाले ल्याएको ‘मेयर छात्रवृत्ति’कार्यक्रमबाट यस वर्ष एक सय ३२ विद्यार्थी लाभान्वित भएका छन् । विपन्न, गरिब, असहाय बालबालिकाको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रममार्फत छात्रवृत्ति रकम उपलब्ध गराउँदै आइरहेको नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षमा नगरभित्रका २१ सामुदायिक विद्यालय र एउटा क्याम्पसका साधारण र उच्च प्राविधिक तथा विज्ञानतर्फ अध्ययनरत एक सय ३२ विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराइएको हो ।
नगरपालिकाले चार लाख ६६ हजार छ सय रुपैया छात्रवृत्तिस्वरुप वितरण गरेको जनाउँदै नगरप्रमुख थापाले छात्रवृत्ति पाउनेमा साधारणतर्फ एक सय २४ र उच्च प्राविधिक तथा विज्ञानतर्फ आठजना विद्यार्थी रहेका बताए ।
साधारणतर्फ बालहित, वीरेन्द्र, कालिका, अकला, मदरसा नुरुलहोदा अहले सुन्नत, विपी आदर्श र शारदाशरण प्राविका दुई/दुईजना विद्यार्थी छनोट रिएको थियो । रामपुर आधारभूत विद्यालयमा चार, दरैठाँटी माविमा १०, रामतुलसी नमूना माविमा १४ जना विद्यार्थी छनोट भएका नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार गङ्गा, सीता, सरस्वती, कृष्णादेवी, आधारभूत, जनविकास, नवदुर्गा, कालिका र सीताराम माविबाट छ/छ जनाले रु १५ हजारका दरले छात्रवृत्ति पाएका छन् ।




















प्रतिकृया