चालु आर्थिक वर्षको मौद्रिक नीति कस्तो आउला र लगानी वातावरणमा कस्तो प्रभाव पर्ला भन्ने सबै लगानीकर्ताको चासोको विषय रहेको थियो। विष्णु पौडेल अर्थमन्त्रीमा आइसकेपछी सकारात्मक देखिएको सेयरबजार अब गभर्नर महाप्रसाद अधिकारीले अन्तिम पटक ल्याउँदै गरेको मौद्रिक नीति पछि कस्तो रहला भन्ने चासो आम लगानीकर्तामा रहेको थियो। मौद्रिक नीतिले बैंकको ब्याजदर देखि बजारको अवस्थासम्म निर्धारण गर्ने भएकाले लगानीकर्ताले आफ्नो रणनीति बनाउनु अघि मौद्रिक नीतिको प्रतीक्षा गरिरहेको थिए।
आज गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको बबरमहलस्थित नयाँ भवनबाट चालु आर्थिक वर्ष २०८१/०८२को मौद्रिक नीति सार्वजनिक गरेसँगै लगानीकर्ताहरुले विभिन्न प्रतिकृया दिएका छन। हामीले मौद्रिक नीति र यसले बजारमा पार्नसक्ने प्रभाव बारे लगानीकर्ता छोटेलाल रौनियार र सेयर विश्लेषक सुवास चन्द्र ढुंगानासंग कुराकानी गरेका छौँ।
बजारको चिरफार सँग कुराकानी गर्दै लगानीकर्ता छोटेलाल रौनियारले यस वर्षको मौद्रिक नीति समग्र रूपमा राम्रो रहेको र राष्ट्र बैंकले सन्तुलित तरिकाले ल्याएको बताएका छन्। उनका अनुसार कर्जा प्रवाहमा लचिलो नीति आएको र भविष्यमा तत्काल ब्याजदर नबढ्ने गरी नीति आएको छ। लगानीकर्ताले लामो समय देखि माग गरेको संस्थागत तर्फको सेयर धितो कर्जाको २० करोडको सीमा हटाएको उनले बताएका छन्। उनले भने, ‘संस्थागत लगानीकर्ताको २० करोड को सीमा हटाईएको छ तर व्यक्तिगत तर्फको १५ करोडको सीमा हटाएको छैन, त्यो सीमा पनि बढाएर कम्तिमा २० करोड गरेको भए हुने हो तर त्यसमा पनि केही छैन किनकी हाम्रो मूख्य माग संस्थागत सेयर धितोकर्जाको सीमा हटाउनु थियो।’ संस्थागत लगानीकर्ताको सीमा हटाएसंगै पुँजीबजार चलायमान हुने र सेयरको डिमान्ड बढ्नेछ।
उनको विचारमा मौद्रिक नीतिले बैंकहरुलाई बढी फ्यासिलेट गरेको छ। मौद्रिक नीतिले बैंकदर सात प्रतिशत बाट साढे छ प्रतिशत गराइदिएको छ जुन सकारात्मक हो। बैंकहरुले असल कर्जामा १.२० % प्रोभिजन राख्ने गरिएको थियो अब त्यसलाई १.१० गरिदिंदा त्यसबाट बैंकको लगानी योग्य रकम बढ्दै जानेछ। साथै नीतिगत दर ५.५% बाट ५% गर्दा ब्याजदर केहि लामो समयका लागि तल्लो बिन्दुमै रहने आधार तय भएको रौनियार बताउँछन्।
आज सार्वजनिक भएको मौद्रिक नीतिले सेयर बजार दिर्घकालिन रुपमा बढ्ने आधार तय भएको रौनियार बताउँछन।
त्यस्तै सेयर विश्लेषक सुवास चन्द्र ढुङ्गानाले यो वर्ष राष्ट्र बैंकले सेयर बजारका लागि मात्र नभई समग्र अर्थतन्त्रको लागि सन्तोषजनक नीति ल्याएको बताए। उनका अनुसार राष्ट्र बैंकले कर्जा प्रवाहलाई सहज बनाएर अर्थतन्त्र चलायमान गराउन सकिने लचिलो नीति लिएको छ।
उनका अनुसार यसअघिका २/३ वटा नीतिहरुले कालो सूचीमा पर्नेहरुको सङ्ख्या बढ्दो क्रममा थियो जसले गर्दा कतिपय ठूला लगानीकर्ताले कालो सूचीमा परेर कर्जा लिन नसक्ने अवस्थाको सिर्जना भएको थियो तर त्यो कुरा प्रति अहिलेको नीतिले सहज गराइदिएको र यसले कर्जाको डिमाण्ड बढाउने उनले बताएका छन्।
सेयर बजारको विषयमा बोल्दै गर्दा उनले संस्थागत तर्फको सेयर धितो कर्जाको सीमा हटाएको कुराले बजारमा राम्रो प्रभाव पर्ने बताएका छन् । उनले भने, ‘संस्थागत तर्फको क्याप हटेको छ र मार्केटको अपेक्षा व्यक्तिगत तर्फ पनि केहि दायरा बढे हुन्थ्यो भन्ने थियो। सो अनुसार नीति नभएपनि पहिला जस्तो निराशाजनक नीति आएको छैन र यो नीतिले बजारलाई पक्कै पनि राम्रो नै गर्नेछ।’
त्यस्तै बैंकहरुबाट प्रवाह हुने कर्जाको लचिलो नीति बैंकिङ सेक्टरका लागि राम्रो कुरा रहेको उनले बताएका छन्। उनका अनुसार जोखिम भारको कुरामा सर्कुलर मार्फत एड्रेस भयो माथि गइसकेको बजारलाई माथि नै टिक्ने वातावरण बन्नेछ। उनले भने, ‘अहिले बजार १८००/२००० मा भएको भए यो नीतिले मार्केटलाई २६०० देखि २८०० सम्म धकेल्थ्यो होला तर नेप्से अहिले नै २६०० को आसपासमा भएकाले धेरै एक्स्पेक्ट गर्नु पनि त्यति उपयुक्त नहुन सक्छ।’


![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)







![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)





प्रतिकृया