नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकारले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता अघि बढाउन सक्ने चेतावनी दिँदै सचेत रहन आग्रह गरेका छन्।
मकवानपुरमा प्रेस सेन्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले एसपीपीलाई प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमै सैद्धान्तिक सहमति दिएको र यसमा अमेरिकन मिडिया र अमेरिकी सरकारको पनि उल्लेख आएको बताए।
प्रचण्डले भने, “एसपीपीमा प्रधानमन्त्रीले अघिल्लो पटक नै सैद्धान्तिक सहमति दिइसकेका छन्, जुन अमेरिकन मिडिया र सरकारी विवरणहरूमा पनि छ। यो गम्भीर चिन्ताको विषय हो। यसले सरकार नेपालको राष्ट्रिय स्वाधिनता संकटमा पार्न खोजिरहेको त होइन भन्ने प्रश्न उठेको छ। अब यसमा सम्झौतामा जाने कुरा गम्भीर विचारको विषय हो।”
उनले यस्ता संवेदनशील मुद्दामा जनतालाई सचेत र सुसूचित गराउन आवश्यक रहेको औंल्याए। साथै, उनले हालको सरकारले जनताको हितमा काम नगरेको दाबी गर्दै सरकारको १०० दिन वितिसक्दा पनि राम्रा उपलब्धिहरू नभएको उल्लेख गरे। “राम्रो कामको रक्षा नगरी, खराबको पक्षपोषण गर्न सरकार लागिरहेको छ भन्ने आम जनताको धारणा बनेको छ,” उनले भने।
अध्यक्ष प्रचण्डले ओली नेतृत्वको गठबन्धन सरकारलाई विचौलियाहरूको प्रभावमा रहेको आरोप लगाउँदै त्यसकै पक्षमा काम गरिरहेको आरोप लगाए। उनले भने, “प्रधानमन्त्री ओलीले अदालतमा मुद्दा चलिरहेका व्यवसायीबाट दानका नाममा रकम लिएको कुरा भ्रष्टाचारको उदाहरण हो। करेक्सन गर्नुको सट्टा यो प्रमाणित गर्ने प्रयास भएको देखियो।”
प्रचण्डले मन्त्री हुनका लागि सांसद हुनुपर्ने अनिवार्य अवस्था हटाउन निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेकोमा जोड दिए। उनले सरकार छाडेपछि माओवादीले सहजता अनुभव गरेको र जनतासँग नजिक हुने अवसर पाएको बताए। आफ्नो नेतृत्वमा भएका काम र उपलब्धिहरू जनतालाई जानकारी गराउँदै पार्टीलाई बलियो बनाउन केन्द्रित हुने प्रतिबद्धता पनि व्यक्त गरे।
















प्रतिकृया