नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लगानीकर्ताहरूलाई सामाजिक सञ्जालमा प्रसारित विश्लेषणलाई आधार बनाएर मात्रै लगानी नगर्न सुझाव दिएको छ। सोमबार एक सूचना जारी गर्दै नेप्सेले हालसम्म नेपालमा कुनै पनि निकायले बजार विश्लेषकको रूपमा कसैलाई दर्ता गर्ने वा मान्यता प्रदान नगरेको स्पष्ट पारेको छ।
नेप्सेले फेसबुक, ट्विटर, क्लब हाउसजस्ता प्लेटफर्महरूमा आएका विश्लेषकहरूका विचार र सुझावहरूको आधारमा मात्रै लगानी गर्दा जोखिम हुने चेतावनी दिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका विचारहरूमा भर परेर बिना यथार्थ बुझाई लगानी गर्दा जोखिममा पर्न सकिने भन्दै, नेप्सेले लगानीकर्ताहरूलाई थप सजगता अपनाउन आग्रह गरेको हो।
सूचनामा नेप्सेले सबैलाई तथ्यमा आधारित निर्णय गर्न र बजारको वास्तविक अवस्था बुझेर मात्रै लगानी निर्णय लिन अनुरोध गरेको छ।


प्रतिकृया