नेपालमा पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल हुनेभएको छ । बलुन नेपाल प्रालिले पर्यटन प्रवर्धनका लागि भन्दै एक साता (डिसेम्बर २४ देखि जनवरी १ तारिख) सम्म महोत्सव गर्ने भएको हो।
महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरसम्म पामे क्षेत्रमा आयोजना हुनेछ। नेपाल बलुन प्रालिका अध्यक्ष बिक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको तथा सञ्चालनमा ६ करोड ८२ लाख रुपैयाँ खर्च हुने जानकारी दिए। उनका अनुसार नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० देशका व्यावसायिक बलुन कम्पनीको सहभागिता रहने लक्ष्य रहेको छ। पर्यटकीय नगरी पोखरा र समग्र नेपालको पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले जानकारी दिए।
महोत्सवमा करीब ५०० व्यावसायिक उडान हुने र त्यसबाट ३ हजार जनाले उडान गर्ने कम्पनीले बताएको छ । महोत्सव अवधिभर हरेक दिन बिहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटले हट एयर बलुनको उडान गर्नेछन् । यसका लागि कम्पनीले आफूसँग भएका पाँचओटा र थप २५ ओटा बलुन स्पेन, फ्रान्स, मलेसिया, जापान, थाइल्याण्ड, अष्ट्रिया, लाओस, जर्मनी, भारतलगायत देशबाट ल्याउनेछ ।
महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारको प्रस्तुतिसहित अन्य गतिविधि पनि हुने बताइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक तथा सूचना अधिकारी ज्ञानेन्द्र भूलले पोखरामा उक्त महोत्सवका लागि हट एयर बलुन उडानको अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘प्राधिकरणले अहिले प्राविधिक पक्षको विश्लेषण गरिरहेको छ, अबको ३–४ दिनमा उडानको अनुमति दिइनेछ,’ उनले भने, ‘पर्यटकीय प्रडक्ट पनि भएकाले यात्रुको सुरक्षामा कुनै कमीकमजोरी गर्न मिल्दैन, सुरक्षाका विषयमा प्राधिकरणको सहयोग र समन्वय रहनेछ ।’




















प्रतिकृया