नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनावी गठबन्धनको विकल्प खुला राखेको छ। पार्टीले एक्लै चुनाव लड्ने तयारी गरे पनि सरकारमा रहेका काँग्रेस र एमालेबाहेक विपक्षी दलहरूसँग सहकार्यको संभावना पनि खुला राखेको छ।
मंसिर १६ को उपनिर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र जिसस प्रमुख गरी ४४ पदमा निर्वाचन हुने छ। पार्टीले उम्मेदवार चयन प्रक्रिया सुरु गरेको छ, र उपमहासचिव रामकुमार भट्टराईका अनुसार धेरै स्थानमा एक्लै चुनाव लड्ने योजना भए पनि तालमेलको आवश्यकता अनुसार सहकार्यको सम्भावना रहेको छ।
नेपाली समाजवादी मोर्चामा रहेका दलहरूसँग चुनावी गठबन्धनको प्राथमिकता राख्दै, नेकपा एसले माओवादी केन्द्र, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र महेन्द्रराया यादव पक्षको नेसपा सहितका दलहरूसँग सहकार्य गर्ने तयारी गरेको छ।
पार्टीले उपनिर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा परिचालन कमिटी गठन गरेको छ। उम्मेदवारी दर्ता मंसिर २ गते हुने भएकाले त्यसअगाडि माओवादीसहित अन्य विपक्षी दलहरूसँग गठबन्धनका बारेमा निर्णय लिन सकिन्छ।
माओवादीले पनि एक्लै लड्ने तयारी गरेपनि स्थानीय तहको परिस्थितिको आधारमा सहकार्य गर्ने नीति लिएको छ। थप निर्णयको लागि भोलि पदाधिकारी बैठक बस्नेछ।
















प्रतिकृया