नाली व्यवस्थापनसँगै भरतपुरमा डुबान समस्या हट्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २३ गते
नाली व्यवस्थापनसँगै भरतपुरमा डुबान समस्या हट्दै

आधा घण्टा झमझम पानी परेपछि नारायणगढको लायन्स चोक, सहिदचोक, भरतपुरको चौबीसकोठी जस्ता ठाउँ जलमग्न हुन्थे । निरन्तर वर्षा हुँदा जिल्ला प्रहरी कार्यालय चितवनले मोटर लगाएर कार्यालय परिसरको पानी फाल्नुपथ्र्याे । अधिकांश सरकारी कार्यालय प्रवेश गर्दा घुँडासम्म पानीमा डुब्नुपर्ने बाध्यता थियो ।

देशका विभिन्न सहरमा यतिबेला डुबानको समस्या छ । विगतमा यो समस्या भरतपुरले पनि व्यहोरेको थियो । यो वर्ष साउन बित्न लाग्दासमेत भरतपुरका स्थानीयबासिन्दाले डुबानको समस्या भोग्नुपरेको छैन ।

भरतपुर महानगरपालिका–३ का अध्यक्ष विकास थापा बितेका वर्षहरुमा ठूलो पानी पर्दा बजार क्षेत्र जलमग्न भएर आधा घण्टा सम्म आवागमनमा समस्या हुने गरेको बताउछन् । यो वर्ष अहिलेसम्म बजार क्षेत्रमा डुबानको समस्या नभएको उनले बताए । वडाध्यक्ष थापाले भने, “छ लेन सडकको नाली र सहिदचोकदेखि बेलचोक हुँदै १ नम्बर पुलसम्म नाली बन्यो, पुङ्गी खोला सफाइ भयो । योसँगै बजारमा डुबानको समस्या हट्यो ।”

नारायणगढको न्यूरोडमा निर्माणाधीन नाली सम्पन्न भएसँगै बजार क्षेत्रको डुबान समस्या पूर्ण रुपमा समाधान हुने उनको भनाइ छ । भरतपुर महानगरपालिका–१० डुबानको मुख्य समस्यामा थियो । वडाध्यक्ष परमेश्वर खनालले छ लेन सडक र बाईपास सडकका नाली, भरतपुर अस्पतालदेखि हाकिमचोकसम्म, दूरसञ्चार रोड, प्रहरी कार्यालय–मालपोत चोक सडकको नालीलगायत भित्री सडक र मुख्य सडकमा नाली व्यवस्थित गरेसँगै समस्या हटेको जानकारी दिए ।

वडा नं ११ र १२ ले बाईपास सडकबाट केरुङ्गा घोलसम्म नाली बनाएपछि यी वडामा डुबानको समस्या घटेको वडा अध्यक्ष खनालले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गरेसँगै भरतपुरको सहरी क्षेत्रको डुबान हटेको बताए । केही ठाउँमा मात्रै समस्या बाँकी रहेको र ती ठाउँमा पनि समस्या पूर्ण रुपमा समाधान हुने उनको भनाइ छ । उनले भनिन्, “पुङगी र केरुङ्गा खोला व्यवस्थित गर्ने काम भइरहेको छ, यसले पूर्णता पाउँदा भरतपुरको मुख्य सहरी क्षेत्रमा डुबानको समस्या हल हुन्छ ।”

महानगरले तत्कालीन कामअन्तर्गत भित्री सडकमा नाली बनाउने, पानीको निकासका उपाय खोज्ने काम गरिरहेको छ । मध्यकालीन योजनाअन्तर्गत पुङ्गी र केरुङ्गा खोलाको संरक्षण गरिरहेको छ । खोलाको रोकावट हटाउने र सुन्दरताको काम गरिरहेको छ । जसका लागि महानगरपालिकाले चालु आर्थिक वर्षमा सङ्घीय सरकारको साझेदारीमा रु ३० करोड बढीको काम गर्दैछ ।

प्रमुख दाहालका अनुसार दीर्घकालीन योजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा रु दुई अर्ब बढी लागतमा ठूला ढल व्यवस्थापन आयोजना यसै आवबाट सुरु गर्ने तयारी छ । दाहालले भनिन्, “महानगरपालिकाले विगत सात वर्षदेखि सहरी ढल व्यवस्थापनका लागि निरन्तर काम गरेकाले प्रतिफल देखिन थालेको हो ।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स