काठमाडौंको बानेश्वरस्थित टेकस्पायर कलेजमा विद्यार्थीहरुलाई उद्यमीसँग जोड्ने कार्यक्रम ‘टेक्नोप्रेन्योर कनेक्ट २०२४’ सम्पन्न भएको छ। बुधबार आयोजित कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा कार्यरत १० उद्यमीहरुले सूचना प्रविधि उद्यममा उत्साहित एबम् आकर्षित १०० विद्यार्थीहरूलाई प्रशिक्षण दिएका छन्।

टेकस्पायर कलेज र नास- आइटीसँगको सहकार्यमा प्रशिक्षणले आयोजना गरेको कार्यक्रममा गल्ली म्याप्सका संस्थापन राज बिक्रम महर्जन, टिगका संस्थापक प्रार्थना साख:, रमाइलो गेम्सका सह संस्थापक उत्तम अधिकारी, नेपाल रियलिस्टिक सोलुसनका प्रमुख कार्यकारी अधिकृत रोशन श्रेष्ठ, डिजिटल नेपालका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर आदित्य राज, इन-ड्राइभका निर्देशन रीता पोखरेल, भक्सक्रोका प्रमुख कार्यकारी अधिकृत सुशान्त राई,ओट्र टेक्नोलोजीका सहसंस्थापक तथा सिईओ दोर्जी खाण्डो लामा, प्रिक्सा टेक्नोलोजीका निर्देशक अनिरुप घिमिरे र यूजी केकका सहसंस्थापक किरण तिमिल्सिना उपस्थित थिए।
कार्यक्रममा उपस्थित उद्यमीहरुले विद्यार्थीहरूसमक्ष आफ्नो उद्यमशीलताको यात्राको अनुभव र उनीहरूका जिज्ञासाहरुको जवाफ दिँदै सूचना प्रविधि उद्योगको व्यावहारिक ज्ञान प्रदान गरेका थिए। आयोजकले कार्यक्रममा हरेक विद्यार्थीहरुलाई एकजना उद्यमीसँग अन्तर्क्रिया गर्ने अबसर उपलब्ध गरेका थिए।

टेकस्पायर कलेजका सीईओ तथा प्रिन्सिपल लक्ष्मण पोखरेलले विद्यार्थीहरुले उद्यमीहरुबाट सिधा सिक्न पाउने पृथक कार्यक्रम सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले भने, “हामी यस कार्यक्रमलाई सफलतापूर्वक आयोजना गर्न पाएकोमा अत्यन्त हर्षित छौं, कार्यक्रमले विद्यार्थीहरूलाई नेपाली आईटी उद्योगका अग्रणी उद्यमीहरूबाट प्रत्यक्ष रूपमा सिक्ने प्लेटफर्मको रूपमा काम गरेको छ। हाम्रो लक्ष्य आगामी पुस्ताका उद्यमीहरूलाई आवश्यक ज्ञान र नेटवर्क उपलब्ध गरेर उनीहरूलाई प्रोत्साहित गर्नु हो।”

हाम्रो लक्ष्य आगामी पुस्ताका उद्यमीहरूलाई आवश्यक ज्ञान र नेटवर्क उपलब्ध गरेर उनीहरूलाई प्रोत्साहित गर्नु हो।
प्रशिक्षणले विद्यार्थीहरूलाई उद्यमीहरुसँग जोड्ने उद्देश्यले २०२२ मा Entrepreneurs Connect कार्यक्रम सुरुवात गरेको थियो। आगामी वर्षहरु अझ परिष्कृत रूपमा यो कार्यक्रमले निरन्तरता पाउने प्रशिक्षणले जनाएको छ।


प्रतिकृया