गृहमन्त्री लेखकले भने, “एक हप्ताभित्र बिपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुन्छ”

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन २२ गते
गृहमन्त्री लेखकले भने, “एक हप्ताभित्र बिपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुन्छ”

गृहमन्त्री रमेश लेखकले विपद्को कारण अवरुद्ध भएको बिपी राजमार्ग अबको एक साताभित्र डाइभर्जनसहित सवारी चलाउने व्यवस्था मिलाइने बताएका छन्।

मन्त्री लेखक मंगलबार बाढी र पहिरो प्रभावित जिल्ला सिन्धुलीको खुर्कोटमा स्थलगत अवलोकन गर्दै, विपद्को कारण सबैभन्दा बढी क्षति पुगेको बिपी राजमार्गलाई अस्थायी रूपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेनाले काम गरिरहेको जानकारी दिए।

उनले भने, “बिपी राजमार्गमा धेरै क्षति भएको छ, र एक हप्ताभित्र डाइभर्जनसहित सवारी चलाउने व्यवस्था हुनेछ। यहाँका अवरुद्ध भित्री सडक सञ्चालनदेखि पुल निर्माणमा सेनाको महत्वपूर्ण भूमिका देखिएको छ।”

गृहमन्त्री लेखकले विपद्को पीडालाई सम्बोधन गर्न सरकारले लागिपरेको बताउँदै, सबैले चाँडोभन्दा चाँडो यस समस्याबाट पार पाउन एकजुट हुनुपर्नेमा जोड दिए। उनले प्रभावितलाई आश्वस्त पार्दै भने, “सरकार छ, र सरकार भनेको सबैको अभिभावक हो।”

यस अवसरमा, मन्त्री लेखकले पालिकाहरूलाई लाभग्राही विवरण तत्काल पठाउन आग्रह गरे। उनले भने, “लाभग्राहीको विवरण आएको तीन दिनभित्र राहतका लागि रु १५,००० देखि रु २०,००० र अस्थायी आवास निर्माणमा पहिलो किस्ता स्वरूप रु २५,००० उपलब्ध गराइन्छ। यसका लागि प्रभावित जिल्लाका पालिकाहरूले चाँडोभन्दा चाँडो लाभग्राही विवरण पठाउनु आवश्यक छ।”

गृहमन्त्री लेखकको साथमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, र प्रधानसेनापति अशोकराज सिग्देल सहितको टोलीले मंगलबार बाढी र पहिरो प्रभावित क्षेत्रको अनुगमन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स