अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पानी भरिएर खतराको सङ्केत देखिएपछि आज बिहान ढोका खोलिएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बाँध माथिबाट पानी बग्न थालेपछि सुरक्षालाई मध्यनजरगरी आज बिहानै तालको ढोका खोलिएको जानकारी दिए ।
“जलाशय भरिन अझै एक/दुई दिन लाग्छ कि भन्ने अनुमान थियो, तर गएराति नै भरियो”, प्रजिअ चिलुवालले भने । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राविधिकको टोलीको सहभागितामा जलाशयको ढोका खोलिएको प्रजिअ चितुवालले बताए ।
कुलेखानीको ड्याम खोलिएकाले त्यहाँबाट बग्ने पानीले मकवानपुरको भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, बागमती गाउँपालिकासँगै सिन्धुली, सर्लाही र रौतहटका नदी तटीय क्षेत्र प्रभावित हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । कुलेखानीको क्षमता कूल एक हजार पाँच सय ३० मिटर छ ।
कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीमा एक्कासी बाढी आउनसक्ने अवस्था देखिएकाले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत ‘हाइ अलर्ट’मा बस्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको थियो ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)


प्रतिकृया