सामाजिक सञ्जालमा चर्चा बटुल्न माहिर उद्यमी दुर्गा प्रसाईले हालै कमिसन बिनाको राइड सेयरिङ्ग प्लेटफर्म ‘दुर्गा’ ल्याउने घोषणा गरेपछि यो विषयले व्यापक चर्चा पाएको छ। तिहारको समयमा पठाओ र इनड्राइभजस्ता राइड सेयरिङ्ग कम्पनीले चार गुणासम्म भाडा बढाएपछि प्रयोगकर्ताहरूले चर्को आलोचना गरे। यसै क्रममा प्रसाईले यात्रुले तिरेको भाडा चालकले शतप्रतिशत पाउने र कम्पनीले कुनै कमिसन नलिने प्लेटफर्म सञ्चालनमा ल्याउने घोषणा गरे।
उनको यो कदमलाई सामाजिक संजालमा धेरैले स्वागत गरेका छन्। प्रसाईका अनुसार, प्लेटफर्ममार्फत यात्रुले तिर्ने भाडा शतप्रतिशत सवारी चालकको खातामा जम्मा हुनेछ। कुनै पनि प्रकारको कमिसन नलिई प्लेटफर्म सञ्चालन गर्ने उनको दाबी छ। उनले एक अन्तरबार्तामा यो योजना यात्रु, चालक, र देशको समग्र हितका लागि फाइदाजनक हुने बताएका छन। तर, सूचना प्रविधि क्षेत्रका विज्ञहरूले यो मोडललाई प्रचारमुखी प्रयासका रूपमा हेरेका छन्।
सूचना प्रविधि क्षेत्रमा काम गर्ने एक विज्ञका अनुसार, ‘नेपालमा अहिलेको जस्तो प्रतिस्पर्धात्मक परिवेशमा राइड सेयरिङ्ग प्लेटफर्म बिना कुनै स्थिर आम्दानी स्रोत सञ्चालन गर्न सम्भव हुने देखिँदैन। एप निर्माणदेखि सञ्चालनसम्म ठूला खर्चहरू हुन्छन्, जसलाई धान्न पैसा कमाउने स्पष्ट मोडल चाहिन्छ।’
राइड सेयरिङ्ग प्लेटफर्म सञ्चालनका लागि प्राविधिक र प्रशासनिक रूपमा धेरै खर्च लाग्छ। पहिलो चुनौती भनेकै एप निर्माण र त्यसको सञ्चालन हो। यसका लागि सिस्टम निर्माण गर्न अनुभवी सफ्टवेयर इन्जिनियरको टीम र अत्याधुनिक सर्भर आवश्यक पर्छ। सुरुवातमै एप विकासमा लाखौँ रुपैयाँको खर्च छुन्छ। यसका अतिरिक्त, प्रयोगकर्ताको डेटा सुरक्षा र सर्भर मर्मतका लागि मासिक रूपमा ठूलो रकम आवश्यक पर्छ। गुगल म्यापको एपीआईका लागि अलग्गै पैसा लाग्छ।
ग्राहक सेवा पनि यस्तो प्लेटफर्मको प्रमुख पक्ष हो। यात्रु र चालकहरूलाई २४ घण्टा सहायता उपलब्ध गराउनका लागि विशेष ग्राहक सेवा केन्द्र सञ्चालन गर्नुपर्छ। सञ्चालन गर्दा हरेक दिन हजारौँ समस्या, गुनासा र जिज्ञासाहरू आउने हुँदा यसको व्यवस्थापन गर्न उत्तिकै संख्यामा कर्मचारी आवश्यक पर्छ। यसरी हेर्दा एप सञ्चालन गर्न करोडौं लगानी लाग्छ। यो खर्च प्रसाई जस्ता चतुर व्यवसायीले आम्दानी बिनानै कहिले सम्म आफ्नो गोजीबाट राख्लान् भन्ने प्रश्न उब्जिन्छ।
सुरुवातमा केही चर्चा लिएपनि एपमा नयाँ प्रयोगकर्ता ल्याउन मार्केटिङ्गको लागि पनि उल्लेख्य रकम छुट्याउनुपर्ने हुन्छ। प्रयोगकर्ताहरूलाई आकर्षित गर्न डिजिटल मार्केटिङ्गदेखि विज्ञापनसम्मको सहारा लिनुपर्छ। यसमा मासिक लाखौँ रुपैयाँको खर्च लाग्ने देखिन्छ।
नाफा बिना व्यवसाय टिकाउ हुने चुनौती
अहिलेका प्रचलित राइड सेयरिङ्ग सेवाहरू, जस्तै उबर, पठाओ लगायतले आफ्नो प्लेटफर्म सञ्चालनका लागि निश्चित प्रतिशत कमिसन लिन्छन्। यो कमिसन नै उनीहरूको आम्दानीको प्रमुख स्रोत हो। कमिसन हटाएर प्लेटफर्मले आम्दानीको स्रोत कसरी सुनिश्चित गर्ने भन्नेमा यस मोडलको सबैभन्दा ठूलो चुनौती देखिन्छ।
विज्ञहरूले विभिन्न माध्यम हरुमा यो प्ल्याटफर्म निःशुल्क कसरी सञ्चालन गर्ने भन्ने विभिन्न विभिन्न विकल्पहरू सुझाएका छन्, जस्तै— एपमा विज्ञापन राखेर वा अन्य प्रायोजनमार्फत आम्दानी गर्ने। तर, यी स्रोतहरू दीर्घकालीन रूपमा कति भरपर्दा हुन्छन् भन्नेमा निश्चितको उदाहरण अहिले सम्म देखिएको छैन। विज्ञापन र प्रायोजनबाट आउने आम्दानीले प्लेटफर्मको दैनिक खर्च धान्न पर्याप्त हुने सम्भावना निकै कम देखिन्छ।
बिना कमिसनको मोडलले सुरुवाती चरणमा ठूलो चर्चा बटुल्न सक्छ। तर, लामो समयसम्म यो टिकाउ हुने सम्भावना न्यून छ। प्लेटफर्म सञ्चालन गर्न आन्तरिक लगानी मात्र होइन, बाह्य स्रोतको पनि आवश्यकता पर्छ। सरकारले अनुदान वा विशेष सहयोग उपलब्ध गराए मात्र यो मोडल केही हदसम्म सफल हुन सक्छ।
यद्यपि, यस्तो मोडलले लामो समयसम्म प्रतिस्पर्धामा टिक्न सक्दैन। सेवाको गुणस्तर घट्न थालेपछि प्रयोगकर्ताको विश्वास गुम्ने सम्भावना उच्च हुन्छ। सुरुवाती चर्चा र लोकप्रियता दीर्घकालीन स्थायित्वको ग्यारेन्टी हुँदैन।
नेपालमा बिना कमिसनको राइड सेयरिङ्ग प्लेटफर्म सुरु गर्ने योजनाले सुरुवाती समर्थन त पाउन सक्छ। तर, दीर्घकालीन रूपमा यो व्यवसायिक मोडललाई सफल बनाउने स्पष्ट योजना र आम्दानीको स्रोत बिना यसले सफलताको लक्ष्यमा पुग्न सक्ने सम्भावना कम देखिन्छ। बाकि त समयले मात्रै बताउला दुर्गा प्रसाईको यो योजना सामाजिक परिवर्तनको माध्यम बन्ला वा प्रचारमुखी गफमै सीमित होला।
















प्रतिकृया