पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने स्वार्थ समूहले नै हाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरेको दाबी गरेका छन्। सोमबार सन्तोषनारायण श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरिएको निर्णयबारे टिप्पणी गर्दै पुनले यो नियुक्ति स्वार्थ समूहको योजनाको हिस्सा भएको आरोप लगाए।
पुनले भने, “प्रचण्ड सरकार ढाल्ने स्वार्थ समूहले अहिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरेको छ। सरकार स्वार्थ समूहको नियन्त्रणमा रहेको भन्ने कुरा प्रमाणित भइसकेको छ।” उनले यही समूहले आगामी दिनमा गभर्नरको नियुक्ति पनि गर्ने सम्भावना रहेको बताए।
उनले थपे, “स्वार्थ समूहले अर्थतन्त्र, सेयर बजार, र नियामक निकायहरू कब्जा गर्ने योजना बनाएको छ। हामीले पहिल्यै दलाल पुँजीवादको बारेमा भनेका थियौं। ओलीजीसँग सँगै सरकारमा हुँदा हाम्रो मतभेदको मुख्य विषय यही थियो। अहिले जनताले स्पष्ट रूपमा बुझ्न सक्ने स्थितिमा पुगेको छ।”
पुनले स्वार्थ समूहको प्रभावका कारण धितोपत्र बोर्ड, राष्ट्र बैंक, र बीमाजस्ता नियामक निकायहरू बिचौलियाको हातमा जाने खतरा औंल्याए। उनले अर्थतन्त्रलाई बिचौलियाहरूको हातमा सुम्पन खोजिएको हर्कतलाई निन्दनीय भन्दै आलोचना गरे।
उनले अन्त्यमा भने, “सरकारबाट हट्दा हाम्रो आलोचना गर्नेहरू थिए, तर अहिले सबै कुरा स्पष्ट भएको छ। बिचौलियाहरूको चलखेल यहाँ मात्रै रोकिने छैन। यो देशको सम्पूर्ण अर्थतन्त्रकै नियन्त्रणको तयारी हो।”
















प्रतिकृया