आर्थिक संकटमा परेको नेटालाई स्थानीय सरकारको सहयोगपछि राहत

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ३ गते
आर्थिक संकटमा परेको नेटालाई स्थानीय सरकारको सहयोगपछि राहत

वित्तीय संकट सामना गरेको चिनियाँ इलेक्ट्रिक गाडी निर्माता होझोन अटोको सहायक ब्रान्ड नेटा अटोले नान्निङ सिटी सरकारको सहायतामा स्थापना भएको कम्पनी नान्निङ इन्डस्ट्रियल इन्भेस्टमेन्ट ग्रुपबाट ठूलो राहत पाएको छ। यो समूहले कम्पनीसंग रणनीतिक साझेदारी गर्दै कच्चा पदार्थको आपूर्ति, उत्पादन, ढुवानी, र निर्यातमा सहयोग गर्दै कम्पनीलाई आपूर्ति श्रृंखला व्यवस्थापनमा सहयोग गर्ने चिनियाँ सञ्चारमाध्यम सिएनइभिपोस्टले उल्लेख गरेको छ।

नेटा अटोले हालसम्म नेटा एक्स, नेटा जीटी, नेटा एस, नेटा अया, र नेटा एल जस्ता मोडेलहरू बजारमा ल्याएको छ । सुरुवातमा सस्तो विद्युतीय सवारीका कारण सफलता पाएको कम्पनीले महंगा मोडेलमा प्रवेश गरेपछि वित्तीय चुनौतीहरूको सामना गर्नुपरेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार वित्तीय दबाब कम गर्न नेटा अटोले कर्मचारी कटौती गर्दै पुनर्संरचना प्रक्रिया अघि बढाएको छ। यिकाईका अनुसार कम्पनीले कर्मचारी पुनर्संरचना गरि व्यवस्थापन स्तरलाई सरल बनाउने, कार्यक्षमता ५० प्रतिशतले वृद्धि गर्ने, र सञ्चालन खर्च ५० प्रतिशतले घटाउने योजना बनाएको छ।

चिनियाँ बजारमा बढ्दो प्रतिस्पर्धाका कारण नेटा अटोको बिक्री घटेको छ। यद्यपि, अन्तर्राष्ट्रिय बजारमा उपस्थिति विस्तार गर्न कम्पनीले विभिन्न देशहरूसँग रणनीतिक साझेदारी गरेको छ। नान्निङ इन्डस्ट्रियल इन्भेस्टमेन्ट ग्रुपसँगको सहकार्यले अन्तर्राष्ट्रिय बजार विस्तार र आपूर्ति श्रृंखला सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। यसअघि नै नेटा अटोले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाउन पूर्व गोल्डम्यान स्याक्सका निर्देशक पान डेङलाई प्रमुख वित्तीय अधिकृत को रूपमा नियुक्त गरेको छ।

हालसम्म नेटा अटोले ४.५ लाखभन्दा बढी गाडी डेलिभरी गरिसकेको छ। तर, सन् २०२४ मा गाडी डेलिभरी संख्या भने घटेको छ।।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स