उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरकानुनी व्यवसायलाई सरकारले छुट नदिने बताएका छन्। उनले व्यवसायीहरूलाई दुःख नदिने र अमर्यादित व्यवहार नगर्ने स्पष्ट पारेका छन्।
रुपन्देहीमा युवा उद्यमी मञ्चले आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले उद्योगीहरूका समस्या सुन्न र छलफल गरी समाधान खोज्न सरकार तयार रहेको बताए। उनले निजी क्षेत्रलाई निर्णय प्रक्रियामा पनि सहभागी गराउने कुरा उल्लेख गर्दै भने, “निजी क्षेत्रले माग्ने र सरकारले दिने मात्रै होइन, अब निजी क्षेत्रलाई निर्णय प्रक्रियामा सहभागी गराउँछौँ।”
पौडेलले मुलुकको अर्थतन्त्रका विभिन्न सूचकहरू सकारात्मक नभएकाले सरकार दबाबमा रहेको बताउँदै त्यसमा सुधार ल्याउनका लागि सरकारले केही योजना अघि सारेको जानकारी दिए। सार्वजनिक ऋण बढेको उल्लेख गर्दै ३० प्रतिशत राजस्व वृद्धि गर्न सके अर्थतन्त्र सन्तुलनमा आउने बताएका छन्। उनले रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति ठीक रहेको तर आन्तरिक उत्पादन र माग घटेको औंल्याउँदै हाल उद्योगहरूको उत्पादन औसत ४० प्रतिशत मात्रै रहेको बताए। समग्र अर्थतन्त्र अझै दबाबमा रहेको र अहिलेको मागअनुसार योजना अघि बढाउनु महत्त्वपूर्ण रहेको उनले स्पष्ट पारे।
युवा पुस्ताले देशलाई कसरी सोचेको छ र नेतृत्वबाट के आशा गरेको छ भन्ने विषयमा सरकारले निरन्तर चासो राखेको बताउँदै पौडेलले व्यवस्था परिवर्तन मात्र नभई अवस्था परिवर्तन गर्न पनि युवा पुस्ताले सन्देश दिनुपर्ने बताए। नेपालमै बसेर उद्यम गर्ने सम्भावना धेरै रहेको र अन्य देशमा यस्ता सम्भावना नभएको उनको भनाइ थियो। “विकसित मुलुकहरूमा सीमित क्षेत्रमा मात्र काम गर्न सकिन्छ, तर नेपालमा जलविद्युत्, पर्यटन, कृषि र सेवा उद्योगमा ठूला सम्भावना छन्। युवाहरूले देश छाड्ने गल्ती गर्न हुँदैन,” उनले भने, “अहिलेको सरकार स्थिर नीति सहितको सबैभन्दा बलियो सरकार हो।”
पौडेलले रुपन्देहीमा मोतिपुर औद्योगिक क्षेत्र बनाउन लागिएको र यसले उद्योगमा लगानी भित्र्याउन सहयोग गर्ने जानकारी पनि दिए।














![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया