काठमाडौँ जिल्ला प्रशासन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र वरिपरि संवेदनशील क्षेत्रहरूमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ। यो आदेश आज बिहीबारदेखि लागू हुनेछ।
आदेशअनुसार, विमानस्थल परिसर, आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल, पार्किङ क्षेत्र लगायत संवेदनशील स्थानहरूमा ५ जनाभन्दा बढीको भीड भेला भएर अनशन, धर्ना, जुलुस वा अन्य विरोध कार्यक्रम गर्न रोक लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार, भीडभाड बढ्दा उच्छृङ्खल गतिविधि, तोडफोड र आगजनीजस्ता जोखिमहरू हुन सक्छन्। त्यसैले सुरक्षा सुदृढीकरणका लागि निषेधाज्ञा आवश्यक रहेको प्रशासनले जनाएको छ।
निषेधाज्ञा लागू नभएका क्षेत्रहरूमा शान्तिपूर्ण विरोध र अभिव्यक्तिको स्वतन्त्रता कायम रहने जनाइएको छ। साथै, पूर्वजानकारीसहित हुने विरोध कार्यक्रममा सरकारी, सार्वजनिक वा व्यक्तिगत सम्पत्तिमा क्षति भएमा आयोजकले क्षतिपूर्ति तिर्नुपर्ने नियम पनि उल्लेख गरिएको छ।
सूचनामा यात्रु र सर्वसाधारणको सुरक्षित आवागमन सुनिश्चित गर्न, महाशिवरात्रि पर्वको धार्मिक र सांस्कृतिक सम्मान गर्न, र विमानस्थल तथा वरिपरि कानून विपरीत गतिविधि नगर्न कडाइका साथ आग्रह गरिएको छ। उल्लंघन गर्नेहरूलाई कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ।


प्रतिकृया