चुनावको मुखमा किन घटिरहेको छ सेयर बजार ?[भिडियो]

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १० गते

नेप्सेमा चुनावी माहोलका बीच अपेक्षित उत्साह नदेखिएको बेला नासा सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नम्बर ५८) का प्रबन्ध निर्देशक मदन पौडेलले लगानीकर्ता ‘वेट एन्ड वाच’को अवस्थामा रहेको बताएका छन्। उनले बजारको चिरफारसँगको अन्तरवार्तामा सेयर बजार सूचना र विश्वासको आधारमा चल्ने भएकाले चुनावी नतिजापछि सरकारको नेतृत्व कसले गर्छ र उसले पुँजी बजारप्रति कस्तो नीति लिन्छ भन्ने स्पष्ट भएपछि मात्रै बजारले स्पष्ट दिशा लिने बताए। घोषणा पत्र सार्वजनिक भए पनि लगानीकर्ताले त्यसको प्रभाव मूल्यांकन गर्न समय लिइरहेको उनको भनाइ छ।

पौडेलका अनुसार हाल बजारमा नयाँ पैसा भित्रिने क्रम जारी छ। बैंक तथा वित्तीय संस्थाबाट ६–७ प्रतिशत ब्याजदरमै सेयर कर्जा पाइरहेकाले लगानीकर्ताले आफ्नै इक्विटीसँगै ऋण थपेर लगानी बढाइरहेका छन्। विशेषगरी मध्यम स्तरका जलविद्युत कम्पनीहरूमा खरिद चाप बढ्नुको कारण सस्ता सेयरमा लगानीकर्ताको आकर्षण देखिनु रहेको उनले बताए। सस्तो मूल्यका सेयरमा सानो मूल्य वृद्धिले पनि प्रतिफल राम्रो देखिने भएकाले त्यस्ता कम्पनीमा चासो बढेको उनको विश्लेषण छ।

नासा सेक्युरिटिजले हालै धितोपत्र बोर्डको नयाँ कार्यविधिअनुसार पुनः मार्जिन लोन सेवा सुरु गरेको छ। यसअन्तर्गत लगानीकर्ताले ३० प्रतिशत आफ्नै लगानी गरेमा कम्पनीले ७० प्रतिशतसम्म ऋण सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ। अधिकतम १ करोड ४० लाख रुपैयाँसम्म ऋण पाइने र एकदेखि तीन महिनासम्मको अवधिका लागि सेवा उपलब्ध रहेको उनले जानकारी दिए। एक महिनाको लागि वार्षिक करिब १२ प्रतिशत बराबर पर्ने ब्याजदर रहेको र लामो अवधिका लागि केही छुटको व्यवस्था गरिएको उनले स्पष्ट पारे।

उनले मार्जिन ट्रेडिङले उधारो कारोबारको समस्या घटाउन सहयोग पुग्ने दाबी गरे। लगानीकर्ताले पर्याप्त पूँजी अभावमा सेटलमेन्टका लागि सेयर बेच्नुपर्ने अवस्था कम हुने र फ्रिक्वेन्ट ट्रेडिङ सहज हुने उनले बताए। हाल नासाले पहिलो चरणमा करिब २ अर्ब रुपैयाँसम्म मार्जिन लोन प्रवाह गर्ने लक्ष्य राखेको र केही दिनमै दुई दर्जनभन्दा बढी लगानीकर्ताले आवेदन दिएको जानकारी उनले दिए।

पुँजी बजारको दीगो विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको उल्लेख गर्दै पौडेलले पाँच वर्षसम्म नीति स्थिर रहने विश्वास बनेमा लगानीकर्ताको आत्मविश्वास बढ्ने बताए। उनले सेटलमेन्ट ग्यारेन्टी फन्ड, अक्सन मार्केट, सर्ट सेलिङ जस्ता नयाँ उपकरणहरू कार्यान्वयनमा आए बजारले अर्को फड्को मार्ने विश्वास व्यक्त गरे।

लगानीकर्तालाई सुझाउँदै उनले हल्ला र अपुष्ट सूचनामा आधारित कारोबारभन्दा कम्पनीको वित्तीय अवस्था र आधारभूत पक्ष अध्ययन गरेर मात्र लगानी गर्न आग्रह गरे। स्पष्ट रणनीति बनाएर निश्चित अवधिका लागि लगानी गर्न सके सेयर बजारबाट दीर्घकालीन रूपमा सम्पत्ति सिर्जना गर्न सकिने उनको भनाइ छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स