राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले रकम नै भुक्तानी नगरी अर्बौँ रुपैयाँबराबरको सेयर कारोबार भएको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पत्र आएपछि मात्रै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुसन्धान अघि बढाएको भन्दै प्रश्न उठाएकी छन्।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८२/८३ मा सेबोनले गरेका कामकारबाही, धितोपत्र बजारको नियमन, विकास तथा लगानीकर्ता संरक्षणबारे छलफलका क्रममा उनले यस्तो प्रश्न उठाएकी हुन्।
उनले सीमित व्यक्तिले रकम नै नतिरी अर्बौँ रुपैयाँबराबरको सेयर उधारोमा खरिद–बिक्री गरी कृत्रिम रूपमा मूल्य बढाएको र त्यसमा उच्च तहका कर्मचारीसमेत संलग्न रहेको आरोप सार्वजनिक भइसकेको उल्लेख गर्दै यति ठूलो प्रकृतिको कारोबार वर्षौँसम्म नियामकको निगरानीबाट कसरी बाहिर रह्यो भन्ने प्रश्न गरिन्।
अधिकारीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पत्र आएपछि मात्रै अनुसन्धान सुरु हुनु चिन्ताजनक भएको बताउँदै सेबोनको वास्तविक समय (रियल–टाइम) बजार निगरानी प्रणाली प्रभावकारी थियो कि थिएन भन्नेबारे स्पष्ट जवाफ मागिन्। साथै, ब्रोकर कम्पनीमाथिको नियमित अनुगमन र लेखापरीक्षण प्रभावकारी रूपमा हुन नसकेको हो कि भन्ने जिज्ञासा पनि उनले राखिन्।
उनले यो घटना एउटा ब्रोकर कम्पनीमा मात्र सीमित छ वा अन्य ब्रोकर कम्पनीमा पनि यस्तै प्रकृतिका कारोबार भएका छन् भन्ने विषयमा व्यापक छानबिन गर्न सेबोनलाई आग्रह गर्दै बजारमा यस्ता गतिविधि दोहोरिन नदिन प्रभावकारी निगरानी प्रणाली आवश्यक रहेको बताइन्।

प्रतिकृया