हालैको निर्वाचन परिणामपछि नेपाली पुँजीबजारमा सकारात्मक माहोल बनेको भन्दै संस्थागत लगानीकर्ताहरू अहिले ‘ह्याप्पी मुड’मा रहेको गरिमा क्यापिटलका प्रमुख व्यवसाय अधिकृत (Chief Business Officer) तुलसी आचार्यले बताएका छन्।
‘बजारको चिरफार’को प्रिमियम पोडकास्टमा आचार्यले निर्वाचनपछि स्थायी सरकार बन्ने अपेक्षाले लगानीकर्तामा उत्साह बढेको बताए। उनका अनुसार धेरै समयपछि सेयर बजारमा २० अर्ब रुपैयाँभन्दा बढी कारोबार हुनु र यसअघि ६ प्रतिशतको सकारात्मक सर्किट लाग्नु पनि यही सकारात्मक अपेक्षाको संकेत हो।
आचार्यका अनुसार राजनीतिक अस्थिरताले विगतमा लगानीको वातावरण कमजोर बनेको थियो। २०४६ सालपछि र २०६२/६३ को आन्दोलनपछि पनि स्थायित्व आउने अपेक्षा गरिएको भए पनि लामो समयसम्म सरकार बन्ने–ढल्ने अवस्थाले लगानीकर्तामा निराशा पैदा गरेको उनले बताए। अहिले भने मतदाताले शक्तिशाली र स्थायी सरकारको पक्षमा जनमत दिएकोले लगानीको वातावरण सुधार हुने विश्वास संस्थागत लगानीकर्तामा देखिएको उनको भनाइ छ।
उनका अनुसार निर्वाचनअघि धेरै संस्थागत लगानीकर्ताले केही रकम ‘क्यास’मा राखेर परिणाम पर्खिरहेका थिए। परिणाम आएपछि क्रमशः बजारमा लगानी बढ्ने सम्भावना रहेको उनले बताए। “सबै लगानीकर्ता अहिले सकारात्मक मुडमा छन्। लगानी नगरे कहिले गर्ने भन्ने सोच पनि देखिएको छ,” उनले भने।
आचार्यले बजारको भविष्य सरकारको नीति र आर्थिक नेतृत्वमा पनि निर्भर हुने बताए। अर्थमन्त्री र गभर्नरबीच समन्वय, पुँजीबजारमैत्री नीति तथा लगानीलाई प्रोत्साहन गर्ने निर्णयहरूले बजारलाई दीर्घकालीन रूपमा सकारात्मक दिशा दिन सक्ने उनको भनाइ छ।
उनका अनुसार नेपाली सेयर बजारमा सामान्यतया ४–५ वर्षको चक्र देखिने गरेको छ। विगतमा पनि जुलाईतिर बजारले उकालो समातेको र अगस्ट–सेप्टेम्बरतिर उच्च विन्दुमा पुगेको इतिहास रहेको उल्लेख गर्दै उनले वर्तमान राजनीतिक अवस्था र चक्रलाई हेर्दा बजारले आगामी समयमा नयाँ ‘अल टाइम हाई’ पनि बनाउन सक्ने संकेत देखिएको बताए।
लगानी रणनीतिबारे बोल्दै उनले संस्थागत लगानीकर्ताले मुख्यतया चार पक्षलाई ध्यान दिने बताए। तीमध्ये कम्पनीको फन्डामेन्टल अवस्था, टेक्निकल विश्लेषण, बजारमा आउने समाचार तथा नीतिगत प्रभाव, र ठूलो लगानीकर्ताको ट्रेन्ड प्रमुख हुने उनले बताए।
त्यस्तै, लगानीकर्ताले आफ्ना लक्ष्य स्पष्ट गर्नुपर्नेमा उनले जोड दिए। छोटो अवधिको ट्रेडिङ गर्ने कि दीर्घकालीन लगानी गर्ने भन्ने कुरा पहिल्यै निर्धारण गर्नुपर्ने उनको सुझाव छ। “हामी नेपालीहरू धेरै क्षेत्रमा आफैँ विज्ञ बन्न खोज्छौँ, तर आवश्यक पर्दा विशेषज्ञको सेवा लिन कन्जुस्याइँ गर्छौँ,” उनले भने। समय वा ज्ञान अभाव भएका लगानीकर्ताले पोर्टफोलियो व्यवस्थापन सेवा लिन सक्ने उनको सुझाव छ।
म्युचुअल फन्डलाई पनि दीर्घकालीन लगानीको प्रभावकारी माध्यमका रूपमा उनले व्याख्या गरे। नियमित रूपमा सानो रकम बचत गरेर लगानी गर्ने प्रणाली (SIP) मार्फत भविष्यमा ठूलो पूँजी निर्माण गर्न सकिने उनको भनाइ छ।
गरिमा क्यापिटलले ‘गरिमा सुवर्ण योजना’ नामक ओपन–एन्डेड म्युचुअल फन्ड पनि सार्वजनिक गर्न लागेको जानकारी दिँदै उनले न्यूनतम एक हजार रुपैयाँबाट लगानी सुरु गर्न सकिने बताए।
अन्त्यमा आचार्यले नेपाली सेयर बजारलाई दीर्घकालीन रूपमा राम्रो अवसर भएको भन्दै लगानीकर्तालाई धैर्य, अनुशासन र स्पष्ट रणनीतिका साथ लगानी गर्न सुझाव दिएका छन्। “धैर्य नै सफल लगानीकर्ताको सबैभन्दा ठूलो सम्पत्ति हो,” उनले भने।

![bizshort | रास्वपाको दुई तिहाईपछि संस्थागत लगानीकर्ताको रणनीति के छ ? [भिडियो] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/what-is-the-strategy-of-institutional-investors-after-the-two-thirds-majority-of-the-rsp Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/bizshort.png)
![corporate | रास्वपाको दुई तिहाईपछि संस्थागत लगानीकर्ताको रणनीति के छ ? [भिडियो] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/what-is-the-strategy-of-institutional-investors-after-the-two-thirds-majority-of-the-rsp Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/corporate.png)
![ipo calander | रास्वपाको दुई तिहाईपछि संस्थागत लगानीकर्ताको रणनीति के छ ? [भिडियो] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/what-is-the-strategy-of-institutional-investors-after-the-two-thirds-majority-of-the-rsp Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/ipo-calander.png)














प्रतिकृया