पूर्वी नेपालमा हावाहुरी चल्ने संभावना बढेसँगै जल तथा मौसम विज्ञान विभागको सूचना अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ। बिहीबार प्राधिकरणले जारी गरेको सूचनामा प्रि-मनसुनको अवधि रहेकोले आगामी दिनमा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरिएको छ।
प्राधिकरणका अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार चैत्र ६ गते शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा एक वा दुई स्थानमा भारी वर्षा र हिमपातको संभावना छ। साथै, दाङ, नेपालगञ्ज र लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लामा शुक्रवारदेखि तीव्र हावाहुरी चल्ने सम्भावना छ भने पर्सि शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा झण्डै ११९ किलोमिटर प्रतिघण्टाको हावाहुरी चल्ने अनुमान गरिएको छ।
प्राधिकरणले उल्लिखित स्थानमा बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन, अनावश्यक बाहिरी गतिविधि नगर्न, घरका झ्यालढोका बन्द राख्न, आगोका स्रोतहरू सुरक्षित गर्न, सवारी साधन रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा नआत्तिन र विस्तारै सुरक्षित स्थानतर्फ जाने सुझाव दिएको छ।
प्रि-मनसुनको प्रभावका कारण तीव्र हावाहुरीले रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहने चेतावनी उपसचिव रामबहादुर केसी द्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ। हावाहुरी चलेको बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीका खम्बा तथा तार मुनि नबस्न, बिजुलीको तार छोएन र विद्युतीय उपकरण नचलाउन समेत प्राधिकरणले सुझाव दिएको छ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान र आफ्नो सूचना नियमित रूपमा जानकारीमा राखेर आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।


प्रतिकृया