आर्थिक उतारचढावलाई चिर्दै अमेरिकी सेयर बजार नयाँ शिखरमा: शुक्रबारको कारोबारमा नयाँ कीर्तिमान
अमेरिकी सेयर बजार गएको शुक्रबार ऐतिहासिक उच्च बिन्दुमा पुगेको छ, जुन केही महिनाअघि ट्रम्प प्रशासनको व्यापार नीतिबाट उत्पन्न भयका कारण झन्डै २० प्रतिशतले ओरालो लागेको बजारका लागि उल्लेखनीय पुनरागमन हो।
एसएण्डपी ५०० परिसूचक शुक्रबार ०.५ प्रतिशतले बढेर ६,१७३.०७ मा बन्द भयो, जुन यसअघि फेब्रुअरीमा कायम भएको रेकर्डभन्दा माथि हो। यही अवधिमा नै डाओ जोन्स ४३२.४३ अंकले बढेर ४३,८१९.२७ मा पुगेको छ भने न्यासड्याक १०५.५५ अंकले उकालो लाग्दै २०,२७३.४६ मा बन्द भएको छ।
गत फेब्रुअरीदेखि अप्रिलसम्म राष्ट्रपति ट्रम्पको ट्यारिफ नीति र व्यापार वार्ताबाट बजारमा अन्योल उत्पन्न भएको थियो। लगानीकर्ताहरूले अमेरिकी अर्थतन्त्रमा झड्का पर्न सक्ने डरले सेयर बेच्न थालेका थिए, जसको कारण बजारमा झन्डै २० प्रतिशतको गिरावट आएको थियो। तर अहिले बजारले सो गिरावटको प्रभाव छिटो पन्छाउँदै नयाँ उत्साह देखाएको छ।
शुक्रबारकै दिन राष्ट्रपति ट्रम्पले क्यानडासँगको व्यापार वार्ता रोक्ने निर्णय लिँदा बजार केही समयका लागि अस्थिर भए पनि अन्ततः सकारात्मकतामा फर्किएको देखियो
बजारले हालै इजरायल–ईरानबीचको युद्धविरामलाई पनि सकारात्मक रूपमा लिएको देखिन्छ। यस युद्धले कच्चा तेलको आपूर्तिमा असर गर्ने डर थियो, तर अहिले अमेरिकी बजारमा तेलको मूल्य फेरि सामान्य अवस्थामा फर्किएको छ।
यससँगै अमेरिका र चीनबीचको व्यापार सम्बन्धमा पनि प्रगति भएको देखिन्छ। अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले चीनसँग माइक्रोचिप र इलेक्ट्रोनिक्स उत्पादनको आपूर्ति सहज बनाउने सहमति भएको बताएका छन्। फेडरल रिजर्भले मुद्रास्फीति नियन्त्रणका लागि सन् २०२४ को अन्त्यमा ब्याजदर दुईपटक घटाएको थियो। हालसम्म सन् २०२५ मा भने कुनै पनि कटौती गरिएको छैन।