ट्रम्पले नियुक्त गरेका व्यक्तिहरूलाई बम आक्रमणको धम्की
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका व्यक्तिहरूलाई बम आक्रमणको धम्की आएको अधिकारीहरूले जनाएका छन्।
ट्रम्पको टोलीकी प्रवक्ता क्यारोलिन लेविटका अनुसार मंगलबार र बुधबार बिहान धम्कीहरू आएका थिए। यसपछि एफबीआईलगायतका सुरक्षा निकायहरूलाई सतर्क बनाइएको र सम्भावित परिस्थितिसँग जुध्न आवश्यक तयारी गरिएको छ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतमा नियुक्त एलिस स्टेफनिकले वाशिङ्टनबाट आफ्नो श्रीमान् र तीन वर्षीय छोरासँग न्यूयोर्क जाँदै गर्दा बम आक्रमणको चेतावनी आएको जानकारी दिएकी छिन्।
पर्यावरण संरक्षण एजेन्सीका प्रमुखका रूपमा नियुक्त लि जेल्डिनलाई पाइप बम आक्रमणको धम्की आएको थियो भने महान्यायाधिवक्ताका दाबेदार म्याट गेट्जलाई पनि आक्रमणको धम्की आएको बीबीसीले जनाएको छ।
(एजेन्सीहरुको सहयोगमा)