कैलालीस्थित यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा रु ४८ करोड १९ लाख ५१ हजार राजस्व संकलन गरेको छ। कार्यालय प्रमुख भुवन जोशीका अनुसार उक्त राजस्व विभिन्न शीर्षकबाट संकलन गरिएको हो। सबैभन्दा बढी सवारीसाधन करबाट रु ३७ करोड ८३ लाख राजस्व उठेको छ भने सबैभन्दा कम व्यावसायिक रजिस्ट्रेसन दस्तुरबाट रु १२ लाख संकलन भएको छ।
त्यसैगरी चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, लाइसेन्स नवीकरण, जरिवाना, जाँचपास तथा लाइसेन्स प्रमाणीकरणबाट रु ९ करोड ३५ लाख ८२ हजार राजस्व प्राप्त भएको छ। यातायात क्षेत्रअन्तर्गत लगतकट्टा, प्रदूषण परीक्षण र रुट इजाजतबाट रु ८८ लाख २६ हजार आम्दानी भएको कार्यालयले जनाएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले विभिन्न शीर्षकबाट रु ७५ करोड ५६ लाख २७ हजार राजस्व संकलन गरेको थियो। कार्यालयको तथ्याङ्कअनुसार हाल बेरुजु रकम शून्य रहेको उल्लेख गरिएको छ।




















प्रतिकृया