नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) निष्काशनमा आवेदन दिन आज (फागुन १५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो। यसअघि, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरू, आफ्ना कर्मचारीहरू र सामूहिक लगानी कोषका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट गरिसकेको छ। दोस्रो चरणमा अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गरिएको हो।
कम्पनीले आफ्नो ७५ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये २ लाख २५ हजार कित्ता (१०%) वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, ६७ हजार ५०० कित्ता कर्मचारीहरूका लागि, र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको छ। अब बाँकी १८ लाख ४५ हजार कित्ता सेयर (१८ करोड ४५ लाख रुपैयाँ बराबर) सर्वसाधारणका लागि खुला गरिएको हो।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिन्छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखाहरू तथा मेरो सेयर अनलाइन प्रणालीमार्फत सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। साथै, आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गअनुसार केयर रेटिङ नेपालले कम्पनीलाई “CARE NP Double B Minus Issuer Rating” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
सीडीएससीका अनुसार हिजो साँझ ५ बजेसम्म १५ लाख ७२ हजार ५८८ जनाबाट २ करोड ४ लाख १ हजार ९२० कित्ता खरिदका लागि आवेदन परेको छ।



















प्रतिकृया