थाइल्याण्डबाट फर्किएका देउवालाई सरकार ढल्ने चर्चाबारे तीन प्रश्न, एउटै उत्तर– “थाहा छैन”
स्वास्थ्य उपचारपछि थाइल्याण्डबाट फर्किएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार परिवर्तनबारे कुनै जानकारी नभएको बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा देउवाले सरकार ढल्ने चर्चा प्रति अनविज्ञता प्रकट गरेका हुन्।
विमानस्थलमा देउवालाई पत्रकारहरूले सत्ता परिवर्तनको विषयमा प्रश्न गर्दा उनले आफ्नै शैलीमा प्रतिक्रिया जनाए।
पत्रकार: “गठबन्धनबारे केही भन्नुहुन्न?”
देउवा: “जो छ, ठीक छ।”
पत्रकार: “गठबन्धनमा खटपट सुरु भएको हो?”
देउवा: “केही भा छैन।”
पत्रकार: “सत्ता परिवर्तन नै हुन्छ भन्ने चर्चा छ नि?”
देउवा: “कसले भन्यो? मलाई थाहा छैन।”
यसअघि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूको बैठकमा देउवा फर्किएपछि सत्ता समीकरण फेरिन सक्ने संकेत गरेका थिए। त्यस्तै, कांग्रेस महामन्त्री गगन थापाले पनि अब सरकारमा बसिरहन आवश्यक नरहेको अभिव्यक्ति दिएका थिए।