नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ। समितिले संक्षिप्त सूचीमा परेका चार उम्मेदवारसँग प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिएपछि तीन जनाको नाम अर्थ मन्त्रालयमा पठाएको हो।
स्रोतका अनुसार सिफारिसमा पर्नेहरूमा विनयदेव आचार्य, डा. गोपालप्रसाद भट्ट र मुकुन्दकुमार क्षत्री रहेका छन्।
समितिले उम्मेदवारहरूको प्रस्तुतीकरण, अन्तर्वार्ता र बायोडाटा मूल्यांकनपछि तीन जनाको नाम टुंगो लगाएको हो। उक्त सूची अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बुझाइएको छ। अब अर्थमन्त्री वाग्लेले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार अपराह्न ३:३० बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सम्भावित रूपमा यही बैठकबाट सिफारिसमा परेका तीन जनामध्ये एक जनालाई सेबोन अध्यक्ष नियुक्त गर्ने तयारी छ।
सिफारिसमा परेका विनयदेव आचार्य हाल सेबोनकै कार्यकारी निर्देशक हुन्। मुकुन्दकुमार क्षत्री नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्। त्यस्तै, डा. गोपालप्रसाद भट्ट पनि नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्।
४७ जना आवेदकमध्येबाट चार जनाको संक्षिप्त सूची तयार गरिएको थियो।

प्रतिकृया