नेपाल धितोपत्र बोर्डले तीनवटा खुलामुखी म्युचुअल फन्ड योजनाहरूलाई इकाइ निष्काशनको अनुमति दिएको छ। बोर्डले अनुमति दिएका योजनाहरूमा एनएमबि सरल बचत फन्ड–ई, सिटिजन्स सदाबहार योजना र एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किम छन्।
एनएमबि सरल बचत फन्ड–ई को हकमा बोर्डले थप २ करोड इकाइ निष्काशन गर्न स्वीकृति दिएको हो। यस योजनाका इकाइहरू १० रुपैयाँ अंकित दरमा हुनेछन्, जसअनुसार २० करोड रुपैयाँबराबरको इकाइ सार्वजनिक निष्काशन हुनेछ। योजना व्यवस्थापक एनएमबि क्यापिटल हो भने कोष प्रवर्द्धक एनएमबि बैंक रहेको छ। हालसम्म यो योजनाका ३४ करोड इकाइ बोर्डमा दर्ता भइसकेका छन्।
त्यसैगरी, सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स सदाबहार योजना लाई पनि ५० करोड रुपैयाँबराबरको इकाइ निष्काशन गर्न अनुमति दिइएको छ। योजना व्यवस्थापकले १० रुपैयाँ अंकित दरमा ५ करोड इकाइ सार्वजनिक गर्नेछ। यस योजनाको कोष प्रवर्द्धक सिटिजन्स बैंक हो।
तेस्रो योजना एनआईसी एसिया म्युचुअल फन्ड अन्तर्गतको एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किम हो। धितोपत्र बोर्डले यस योजनाको १ अर्ब रुपैयाँबराबरको इकाइ निष्काशन गर्न स्वीकृति दिएको छ। योजनाअनुसार, १० करोड इकाइ १० रुपैयाँ अंकित दरमा सार्वजनिक हुनेछन्। योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल हो भने कोष प्रवर्द्धकमा एनआईसी एसिया बैंक रहेको छ।
यी तीनवटै योजना खुलामुखी प्रकारका म्युचुअल फन्ड हुन्।


प्रतिकृया