अमेरिकी धितोपत्र बोर्डले दायर गर्यो इलन मस्कमाथि मुद्दा, किन ?
अर्बपति इलन मस्कमाथि ट्विटरको २०२२ मा भएको ठूलो हिस्सेदारी किन्ने जानकारी समयमा नदिएको आरोपमा अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले मंगलबार मुद्दा दायर गरेको छ।
एसईसीले वाशिङ्टन डीसीको संघीय अदालतमा दायर गरेको उजुरीमा मस्कमाथि ५ प्रतिशत ट्विटर सेयर किनेसँगै १० क्यालेन्डर दिन भित्र जानकारी दिनुपर्ने नियम उल्लङ्घन गरेको आरोप लगाइएको छ। मस्कले २०२२ को मार्च २४ सम्म यो जानकारी दिनुपर्ने थियो, तर उनले ११ दिन ढिलो गरी २०२२ अप्रिल ४ मा मात्र सार्वजनिक गरेका थिए।
रोयटर्सका अनुसार यस अवधिमा मस्कले थप ५० करोड डलर बराबरको सेयर किनेर त्यस जानकारीलाई गोप्य राखेका थिए। जब मस्कले आफ्नो हिस्सेदारी सार्वजनिक गरे, तब उनको सेयरको हिस्सा ९.२ प्रतिशत पुगिसकेको थियो। यस खुलासासँगै ट्विटरको सेयर मूल्य २७ प्रतिशतले वृद्धि भएको थियो, जसले मस्कलाई आर्थिक लाभ पुर्याएको एसईसीको दावी छ।
यसै कारण, एसईसीले मस्कलाई आर्थिक जरिवाना तिर्न र अनुचित रूपमा आर्जित मुनाफा फिर्ता गर्नुपर्ने माग गरेको छ।