राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाई बहुमत ल्याउने भएपछि पूँजीबजारका लगानीकर्ताहरु उत्साहित देखिन्थे। लगानीकर्ताहरु यति धेरै ‘एक्साइटेड’ थिए कि फाल्गुन २५ का दिन नेप्सेमा ६ प्रतिशतको पोजिटिभ सर्किट लाग्यो। चैत ११ गते नेप्से सूचक २९७० सम्म पुग्यो। १३ गते बालेन्द्र शाहले प्रधानमन्त्रीको सपथ लिए। बहुप्रतिक्षित सरकार बन्यो। डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बने।
बालेन प्रधानमन्त्री बनेपछि नेप्सेमा उछाल आउने धेरैको आँकलन थियो। १५ गते आइतबारका दिन बजार खुल्यो। सो दिन आम अपेक्षा विपरित नेप्से सूचक ७१ अंकले घट्यो। सरकारले सार्वजनिक गरेको १०० कार्यसूचीभित्र पूँजीबजार नअटेपछि सोमबार अर्को ४७ अंकले घट्यो। बुधबारसम्म आईपुग्दा नेप्से परिसूचक २७७६ मा आईसकेको छ। यो बीचमा बजार १९० अंकले घटिसकेको छ।
किन घट्यो सेयर बजार ?
बजारमा अहिले पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्रीको पक्राउ, पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानविन गरिने र आफ्नो प्रभावमा रहेका संस्थाहरुको रकम दुरुपयोग गरि आफ्नो नाममा सेयर खरिद गर्ने दिपक भट्ट र उनको समूहमाथि सम्पत्ति सुद्धिकरण विभागले अनुसन्धान गर्ने कुराले नेप्से घट्यो भन्ने चर्चा छ। बजारको चिरफारले यो बीचमा सैयौं लगानीकर्ता, ब्रोकर कम्पनीहरुका संचालक तथा कर्मचारीहरु, संस्थागत लगानीकर्ताहरुसंग कुराकानी गरेको छ। अधिकांशको बुझाईमा सरकारले जे गरिरहेको छ निकै राम्रो छ। बदमासी गर्नेहरु माथि कारवाही हुनैपर्छ। तर नीतिगत तहमा बस्नेहरुले, विशेषगरि अर्थमन्त्रीले बुझ्नुपर्ने कुरा चाहिँ के भने सेयर बजार निकै संवेदनशिल हुन्छ। यो आम लगानीकर्ताको ‘सेन्टिमेन्ट’ मा आधारित रहेर चल्ने बजार हो। ‘गलत काम गर्ने पो डराउने हो त, गलत गरेको छैन भने किन त्रसित हुने ?’ जस्ता कुराहरुले सेयर बजारमा काम गर्दैन। राज्यले, त्यसमा पनि अर्थतन्त्र संग सम्बन्धित विषय भएकाले अर्थमन्त्रीले पूँजी बजारका लगानीकर्तालाई विश्वासमा लिन सक्नुपर्छ। अनि पूँजी बजार त्रसित हुँदा आफ्ना धारणाहरु स्पष्ट रुपमा राख्नुपर्छ र लगानीकर्ताले वर्षौं देखि उठाउँदै आएका मागहरु तुरुन्त सम्बोधन गर्नुपर्छ। यदि यतिमात्रै गरिदिएको भए बजारमा यो लेभलको गिरावट आउने थिएन भन्ने अधिकांशको धारणा हामीले पायौं।



















प्रतिकृया