परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्दैछन्। उनी चिनियाँ विदेशमन्त्री Wang Yi को निमन्त्रणामा बेइजिङ जान लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना समकक्षी वाङ यीसँग नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्यका विविध विषयमा द्विपक्षीय वार्ता गर्नेछन्। साथै उनले चीनका अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा मन्त्री खनाल बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुनेछन्। नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्यले आयोजना हुने उक्त कार्यक्रममा उनले चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग समेत छलफल गर्नेछन्।
यसैबीच, बेइजिङस्थित नेपाली दूतावासले मन्त्री खनालको सम्मानमा स्वागत समारोह आयोजना गर्नेछ। उक्त समारोहमा उनले चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको छ।
परराष्ट्रमन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने तालिका रहेको मन्त्रालयले जनाएको छ।

प्रतिकृया