“क्युएफएक्स” संस्थापकले निर्माण गरेको फिल्म ‘मिसिङ: केटी हराएको सूचना’ व्यापारिक रूपमा असफल, हलहरूमा टिकट बिकेन
नेपाली चलचित्र मिसिङ: केटी हराएको सूचनाले प्रदर्शनको चौथो दिनसम्म पनि दर्शकको उत्साहजनक साथ पाउन सकेको छैन। दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले ‘वर्ड अफ माउथ’को बलमा व्यापार गर्ने अपेक्षा राखे पनि हलमा दर्शकको उपस्थिति न्यून छ।
नाजिर हुसेन र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहेको यस चलचित्रलाई क्यूएफएक्सलगायत मल्टिप्लेक्सले पर्याप्त शो उपलब्ध गराए पनि टिकट बिक्री कमजोर देखिएको छ। लबिम मलको ६:४५ साँझको शोमा बिहान ११:२० बजेसम्म मात्र चार टिकट बिक्री भए भने १२:३० बजेको शोमा एउटा पनि टिकट बिक्री भएको छैन। सिभिल मल र भाटभटेनी हलहरूमा पनि टिकट बिक्री न्यून रहेको छ, जसले गर्दा कतिपय शो रद्द हुन सक्ने अवस्था छ।
चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाललगायत कलाकारहरूको अभिनय छ। निर्देशक दीपेन्द्र गौचन यसअघि ‘उजेली’ डकु-ड्रामाबाट चर्चित छन्।