नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकमा आफ्ना माग पूर्ण रूपमा सम्बोधन नभएको भन्दै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महासंघले सरकारले शिक्षकसँग गरेको सहमति कार्यान्वयनमा नआएको भन्दै आन्दोलन अपरिहार्य भएको जनाएको हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार विधेयकमा केही प्रावधान सकारात्मक भए पनि शिक्षक–कर्मचारीका मुख्य सरोकार र पहिलाका सहमतिका महत्वपूर्ण बुँदा अझै सम्बोधन भएका छैनन्।
पहिलो चरणको आन्दोलनअन्तर्गत भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइनेछ। भदौ ११ देखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक दलका कार्यालयमा दुई घण्टे प्रतिनिधिमूलक धर्ना बसाइनेछ। भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय इकाइमा ध्यानाकर्षण पत्र बुझाइने कार्यक्रम तय गरिएको छ।
सुवेदीले भदौ २१ गते दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने र यसमा अवधारणात्मक बहस, विरोध प्रदर्शन र कडा कार्यक्रम समावेश हुने चेतावनी दिएका छन्। उनले सरकारले शिक्षकसँग गरेको सहमति कार्यान्वयनमा मात्रै महासंघको जोड रहेको बताएका छन्।




















प्रतिकृया