स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आगामी असार २७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पूँजीको ४० प्रतिशत बराबर अर्थात् २ करोड ३१ लाख रुपैयाँ मूल्यका २ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो। यसमध्ये १ हजार १५५ कित्ता कर्मचारीहरूका लागि, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी २३ हजार १०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ। प्रत्येक सेयरको अंकित मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ।
यस आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन्। उनीहरूले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ता सेयरको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। इक्रा नेपालले स्वस्तिक लघुवित्तलाई ‘ICRA NP Issuer Rating B+’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै पुरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। यस निष्काशनको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त तथा आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूको सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।














प्रतिकृया