काठमाडौंस्थित वाइन उत्पादक कम्पनी सुप्रिम वाइन नेपाल लिमिटेडले प्रस्तावित प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि नेशनल क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यससँगै कम्पनीले सार्वजनिक निष्काशन प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ।
यससम्बन्धी सम्झौतामा २०८३ साउन १४ गते काठमाडौंको पानीपोखरीस्थित नेशनल क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालयमा दुवै संस्थाका प्रतिनिधिबीच हस्ताक्षर भएको हो।
२०७१ सालमा स्थापना भएको सुप्रिम वाइन नेपालको मुख्य कार्यालय काठमाडौं महानगरपालिका–बुढानीलकण्ठ–३ मा रहेको छ। कम्पनीले AKIRA र SUB MARINE ब्रान्डअन्तर्गत प्रिमियम वाइन उत्पादन तथा बिक्री गर्दै नेपाली वाइन उद्योगमा आफ्नो उपस्थिति स्थापित गरेको जनाएको छ। कम्पनीका अनुसार दशकौँको संयुक्त अनुभव भएको व्यवस्थापन टोलीको नेतृत्वमा व्यवसाय सञ्चालन हुँदै आएको छ र कम्पनी हाल नाफामूलक अवस्थामा सञ्चालनमा रहेको छ।
कम्पनीले आगामी दिनमा विद्यमान व्यवसाय विस्तारसँगै कृषि पर्यटन (Agro-Tourism) क्षेत्रमा समेत प्रवेश गर्ने योजना बनाएको छ। आईपीओबाट संकलन हुने रकम उत्पादन क्षमता विस्तार, व्यवसाय विस्तार योजना कार्यान्वयन तथा नेपालकै अग्रणी वाइन उत्पादक बन्ने दीर्घकालीन लक्ष्य हासिल गर्न उपयोग गरिने कम्पनीले जनाएको छ।
सुप्रिम वाइनका अनुसार नेपालको मदिरा उद्योग पछिल्लो एक दशकमा वार्षिक करिब २० देखि २५ प्रतिशतको दरले वृद्धि हुँदै आएको भए पनि वाइनको हिस्सा कुल मदिरा बजारको करिब १ प्रतिशत मात्रै रहेको अनुमान छ। उपभोक्ताको रुचिमा आएको परिवर्तन तथा प्रिमियम एवं स्वदेशी वाइनप्रतिको बढ्दो मागका कारण यस क्षेत्रमा उल्लेखनीय विस्तारको सम्भावना रहेको कम्पनीको विश्वास छ।
आईपीओ प्रक्रिया व्यवस्थापनको जिम्मेवारी पूर्ण इजाजतप्राप्त मर्चेन्ट बैंक तथा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेशनल क्यापिटल लिमिटेडले सम्हाल्नेछ। पानीपोखरीस्थित केन्द्रीय कार्यालयबाट सञ्चालन हुँदै आएको नेशनल क्यापिटलले लगानी व्यवस्थापन तथा मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ। कम्पनीले पूँजी बजारमार्फत व्यवसायलाई वित्तीय स्रोत जुटाउन सहयोग गर्दै निष्काशन व्यवस्थापन सेवा विस्तार गरिरहेको जनाएको छ।
यस साझेदारीबारे दुवै संस्थाका प्रतिनिधिले व्यावसायिक र व्यवस्थित आईपीओ प्रक्रिया सञ्चालन गर्न सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। साथै, नेशनल क्यापिटलको नियुक्तिसँगै सुप्रिम वाइन नेपालको सार्वजनिक निष्काशन यात्रा र आगामी विस्तार योजनाको नयाँ चरण सुरु भएको जनाइएको छ।
प्रतिकृया